स्वास्थ्यमा सुधार नआएको भन्दै सिरोहियालाई काठमाडौं ल्याउने तयारी
काठमाडौं । नागरिकता किर्ते मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलासप्रसाद सिरोहियाको स्वास्थ्यमा सुधार नआएको भन्दै काठमाडौं ल्याउने तयारी गरिएको छ ।
हिजो मात्रै जिल्ला अदालत धनुषाले सिरोहियालाई जमानतमा रिहा गर्न अस्वीकार गर्दै थप तीन दिन हिरासतमै राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । तर स्वास्थ्यमा समस्या आएको भन्दै सिरोहियालाई जनकपुरको काब्या अस्पताल भर्ना गरिएको छ । अस्पतालबाटै उनलाई एयरलिफ्ट गरि काठमाडौं ल्याउने तयारी भएको हो । टाउको दुखाइ, उच्च रक्तचाप तथा मुटुको चालमा उतारचढाव भएको भन्दै उनलाई पहिले जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
यस अघि शुक्रबार अदालतले उनलाई तीन दिन थुनामा राख्न अनुमति दिइएकोमा तीन दिन बितेसँगै म्याद थपका लागि अदालतमा हिजो उपस्थित गराइएको थियो । अघिल्लो साताको बुधबार नागरिकता कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएपछि आफ्नै कार्यालयबाट सिरोहिया पक्राउ परेका थिए ।
प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार
