बारा, पर्साका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ। केन्द्रले पुरानो ‘टिओडी’ (टाइम अफ डे) मिटर प्रतिस्थापन गरी ‘स्मार्ट मिटर’ जडान गरिएको हो।
केन्द्रले ११ किलो भोल्ट वा सोभन्दा बढी भोल्टेज ‘सप्लाइ’ लिएका ‘एचटी मिटरिङ युनिट’ जडित (ट्रान्सफर्मर) जडित क्षमता दुई सय केभीदेखि २५ हजार किलो भोल्ट एम्पेरेस क्षमताको विद्युत् उपभोग गर्ने उद्योगमा स्मार्ट मिटर जडान गरिएको हो।
केन्द्रका अनुसार उद्योगका ग्राहकको टिओडी मिटरलाई ‘शून्य दशलमलव दुई एस एकुरेसी क्लास’को स्मार्ट इनर्जी मिटर प्रतिस्थापन गर्ने नीतिअनुसार नयाँ स्मार्ट मिटर निःशुल्क जडान गरेको हो।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अवधेशकुमार दुवेले प्राधिकरणको केन्द्रीय कार्यक्रमअन्तर्गत नै पर्सा र बाराका दुई सय १२ उद्योगमा निःशुल्क स्मार्ट इनर्जी मिटर जडान गरेको बताए।
प्राधिकरणले एउटा उद्योगमा रु ७२ हजार रकम पर्ने स्मार्ट इनर्जी मिटर जडान गरेको जनाएको छ। कार्यालयका अनुसार ती उद्योगमा सो मिटर जडान गर्न रु एक करोड ५२ लाख ६४ हजार रकम लागेको जनाएको छ। उद्योगीले महिनाको अन्त्य भएको दिनको मध्यरातमा नै बिल प्राप्त गर्न सक्नेछ।
कार्यालय प्रमुख दुवेले मिटर जडान गरेसँगै मिटर रिडिङ गर्ने दुईजना जनशक्तिको भार पनि कम भएको बताए।
प्रकाशित मितिः २०८१ जेठ ०९ बुधबार
