विदेश बसोबास गर्न नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बर्सेनि बढ्दै

भक्तपुर न्यूज

१२ चैत २०८० ८:३४

विदेश बसोबास गर्न नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या बर्सेनि बढ्दै

काठमाडौं । परिवार सहित विदेशमा व्यवस्थित बसोबास गर्नका लागि नागरिकता त्याग्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।

मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्या ५८ पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा १८ जनाले नागरिकता परित्याग गरेका थिए । मोरङ प्रशासनले २०६६ सालदेखि मात्र नागरिकता परित्याग गर्नेको विवरण व्यवस्थित तवरले राख्न थालेको हो । त्यसयता हालसम्म १८४ जनाले नागरिकता त्यागेको प्रशासनले जनाएको छ । मोरङ प्रशासन नागरिकता फाँटका कर्मचारी सुमन निरौलाले गत वर्षको भन्दा यस वर्ष नागरिकता परित्याग गर्नेको सङ्ख्या बढेको बताए । उनले गत वर्षसम्म भारतमा विवाह गरी जाने र उतै बस्ने भएकाले नागरिकता परित्याग गर्नेहरू मात्रै हुने गरे पनि यस वर्षबाट भने गैरआवासीय नेपाली नागरिकहरूले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिक लिन नेपाली नागरिकता परित्याग गर्नेहरू बढेको बताए । एनआरएनको नागरिकता लिनेहरूमा महिला र पुरुषको सङ्ख्या बराबर रहेको उनले बताए ।

वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारी लगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको सङ्ख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता त्याग गरेपछि मात्रै अन्य देशको नागरिकता पाइने भएकाले पनि त्याग गर्नेहरूको सङ्ख्या बढेको देखिएको बताए । त्यसबाहेक भारतीय नागरिक बन्नका लागि पनि नेपाली नागरिकता परित्याग गर्ने गरेको पाइएको प्रमुख जिल्ला अधिकारी साहले बताए । युरोप, अमेरिका लगायत विकसित मुलुकमा बस्ने मोहका कारण पनि नेपाली नागरिकता परित्याग गर्नेहरूको ग्राफ उकालो लागेको छ । झट्ट हेर्दा सङ्ख्या थोरै देखिए पनि मुलुकभर वार्षिक रूपमा भने करिब आठ सय बढीले नागरिकता परित्यागका लागि निवेदन दिने गरेका छन् ।

प्रकाशित मितिः २०८० चैत्र १२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय