कांग्रेसको महासमिति बैठकमा प्रेस युनियनको प्रतिनिधित्वको विवाद निरूपण
काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा शुभेच्छुक संस्था प्रेस युनियनको प्रतिनिधित्वको विवाद निरूपण भएको छ। प्रेस युनियनबाट थप दुई जनालाई आमन्त्रित सदस्य बनाउने गरी विवाद समाधान गरिएको हो। हरिहर विरही र तारानाथ दाहाललाई आमन्त्रित प्रतिनिधिकारूपमा सहभागी गराइने निर्णय भएको छ।
महासमितिमा युनियनबाट ४ जना प्रतिनिधि रहने व्यवस्था छ। कांग्रेसले ईश्वरी ओझा, बद्री सिग्देल, सरोज अधिकारी र शिव लम्साललाई महासमिति सदस्य बनाएको छ। तर लम्सालबाहेक पुरानो कार्यसमितिलाई महासमिति सदस्य बनाएपछि अहिलेको शिव लम्साल कार्यसमितिले विरोध गरेको थियो। त्यसपछि दाहाल र विरहीलाई आमन्त्रित सदस्य बनाउने गरी सहमति भएको हो।
ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ, सेन्टर फर डेमेक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले पनि महासमिति बैठक बहिष्कार गर्ने बताएका थिए। ती शुभेच्छुक संस्थाबाट पनि यसै गरी प्रतिनिधित्व गराउने गरी निर्णय भएको कांग्रेसले जानकारी दिएको छ।
प्रकाशित मितिः २०८० फागुन ०८ मंगलबार
