बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत गजमेर पक्राउ

भक्तपुर न्यूज

२ फागुन २०८० ८:३५

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत गजमेर पक्राउ

काठमाडौं । बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेका छन् । गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि गोपाललाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार बलात्कारको कसुर गरेको जाहेरी परेपछि गोपाल गजमेरलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ । अहिले सो सम्बन्धमा अनुसन्धान भइरहेकाले थप केही बताउन नमिल्ने कार्कीले बताए ।

गजमेरविरुद्ध गत माघ २९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएलगत्तै गजमेरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । गजमेर यसअघि उच्च अदालत पाटनमा कार्यरत रहँदा सोही कार्यालयमा करारमा काम गर्ने एक कर्मचारीसँग नजिकिएका थिए । ती युवतीसँग नजिकिएका गजमेरले आफूलाई गत माघ १८ गते करणी गरेको भन्दै जाहेरी परेको प्रहरकिो भनाइ छ ।

हाल गजमेरलाई पक्राउ गरी अनुसनधान भइरहेको र गजमेरले हालसम्म आफ्नो काम वा अन्य विषयमा केही नबताएको एसपी कार्कीले बताए । उनीसँग बयान लिने क्रममा त्यो विवरण खुल्ने भएपनि अहिले नै उनीसँग बयान नलिएकाले उनीबारे थप केही जानकारी नभएको कार्कीले बताए ।

प्रकाशित मितिः २०८० फागुन ०२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय