विश्वविद्यालय ऐन संशोधन गर्नु स्वभाविकः प्रधानमन्त्री देउवा
काठमाण्डौ, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको विद्यमान ऐन नियम, विनियममा समयसापेक्ष संशोधन गर्नु स्वभाविक बताएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको आठौँ सभालाई आज काठमाण्डौमा सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले ऐनमा केही संशोधन गर्न विगत वर्षमै प्रक्रियामा सुरु भएको प्रक्रियालाई शीघ्र टुंगो लगाइने विश्वास व्यक्त गरे । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले नेपालका विशिष्ट सम्पदाबारे ज्ञान दिने उपयुक्त संस्था लुम्बिनी बौद्ध विश्वविद्यालय भएको बताए ।
प्रधानमन्त्री देउवाले लुम्बिनी मात्र नभई बुद्धसँग जोडिएका कपिलवस्तु, रामग्रामजस्ता पुरातात्विक क्षेत्रका साथै स्वयम्भू, बौद्धनाथ, बौद्धकलाले युक्त विहार, मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिक क्षेत्रबारे ज्ञान दिलाउन सो विश्वविद्यालय थप अग्रसर हुनुपर्नेमा जोड दिए ।
श्रीलंका, थाइल्याण्ड र भारतजस्ता देशले आफुलाई ‘बौद्ध अध्ययन’ केन्द्रका रुपमा स्थापित गर्न कोसिस गर्दै आएको तर बुद्धको जन्मभूमि लुम्बिनी–नेपाल धार्मिक तथा पर्यटकीयस्थलका रुपमा मात्रै सीमित हुनु चिन्ताजनक भएको बताउँदै उनले अब लुम्बिनीलाई एक विशिष्ट अन्तर्राष्ट्रिय बौद्ध अध्ययन केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले व्यक्तिगत लाभ, कुण्ठा र तिरस्कार त्यागेर मानवकल्याणमा आधारिक सोच र कर्मका लागि बुद्धदर्शन उपयोगी भएको बताउँदै यसको प्रवद्र्धनमा विश्वविद्यालय लाग्नुपर्ने बताए । विश्वविद्यालयका उपकुलपति डाक्टर नरेशमान बज्राचार्यले विश्वविद्यालयका गुरुयोजना पूर्णरुपमा सम्पन्न भइसकेको र प्राज्ञिक कार्यक्रमको पनि वृद्धि भइरहेको जानकारी दिए ।