भरतपुर मतगणना विवादको सुनुवाई आज
काठमाडौं, ८ साउन । भरतपुर मतगणना विवादको सुनुवाई आजका लागि तोकिएको छ । सर्बोच्च अदालतले आजका लागि पेशी तय गरेको हो । यसअघि पटकपटक सर्दै आएको पेशी आजका लागि तोकिएको हो ।
निर्वाचन आयोगले गठन गरेको छानबिन समितिले ९० वटा मतपत्र च्यातिएको रिपोर्ट बुझाएपछि निर्वाचन आयोगले विवाद समाधान गर्न भरतपुर १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेपछि त्यस विरुद्ध रिट परेको थियो ।
एमालेको तर्फबाट भरतपुर वडा नम्बर १९ का खुला सदस्य उम्मेदवार गुञ्जन विक र भरतपुर १९ कै मतदातासमेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले रोकिएको मतगणना सुरु गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
निर्वाचन ऐनको कानुनी व्यवस्था जेजे भए पनि सर्वोच्चमा आयोगको निर्णयविरुद्ध रिट परिसकेको अवस्थामा अब सबैको प्रतिक्षा सर्वोच्चको फैसलामा अड्किएको छ । निर्वाचन आयोगले भने फेरि मतदान गर्ने निर्णय गरेको थियो ।