विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

भक्तपुर न्यूज

१७ माघ २०८० ७:५५

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बैतडी, चितवन र कैलाली जिल्लामा दुर्घटना भएको नेपाल प्रहरीले जानकारी दिएको हो ।

बैतडीको दोगडाकेदार गाउँपालिका-२ कटौजपानीस्थित सडकमा सु.प.प्र.०१००२ ज १५३७ नम्बरको बलेरो जिप सडकबाट करिब ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने १५ वर्षीया मनिशा बिष्टको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका चालकसहित ३ जनालाई उपचारको लागि धनगढी कैलाली पठाइएको छ । अन्य ४ जना घाइते उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यता चितवनको भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित सडकमा ग.२३ प १५५९ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रुपन्देही कञ्चन गाउँपालिका-४ बस्ने ३३ वर्षीय रमेश रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै कैलालीको गोदावरी नगरपालिका-२ स्थित सडकमा बा.१८ च ५८२९ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीया नन्दा देवी नाथको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ स्थित सडकमा से.६ प २८५९ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटरमा सवार बर्दिया बाँसगढी नगरपालिका-४ बठौवागाउँ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मितिः २०८० माघ १७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय