पाकिस्तानी प्रधानमन्त्रीले बोलाए आपतकालीन सुरक्षा बैठक

भक्तपुर न्यूज

५ माघ २०८० १०:४४

पाकिस्तानी प्रधानमन्त्रीले बोलाए आपतकालीन सुरक्षा बैठक

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री अनवर उल हक काकरले हालै इरानी क्षेत्रमा ‘आतङ्कवादविरूद्ध’ को लक्ष्यमा हवाई आक्रमणपछि शुक्रबार सेना र गुप्तचर प्रमुखसँग आपतकालीन सुरक्षा बैठक बोलाएका छन्।

दुई देशबीचको साझा सीमा क्षेत्र बलुचिस्तानमा भएको दुर्लभ सैन्य कारबाहीले इजरायल–हमास युद्धका कारण उत्पन्न क्षेत्रीय तनावलाई थप बढावा दिएको छ। इरानले मङ्गलबार राति पाकिस्तानमा रहेको ‘आतङ्कवादी’ लक्ष्यमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको बताएको थियो भने पाकिस्तानले बिहीबार इरानभित्र रहेका लडाकू लक्षित गरी आक्रमण गरेको बताएको थियो।

यसैबीच दुई आणविक शक्तिराष्ट्रमा भएको तनावपछि संयुक्त राष्ट्रसङ्घ र संयुक्त राज्य अमेरिकाले संयमका लागि अपिल गरेका छन् भने चीनले दुई देशबीच मध्यस्थता गर्ने प्रस्ताव गरेको छ।

इस्लामावादका सुरक्षा अधिकारीका अनुसार सेना प्रमुख र गुप्तचर निकायका प्रमुख मध्याह्नको बैठकमा सहभागी हुनेछन्। विवादका कारण पाकिस्तानी प्रधानमन्त्री काकरले स्वीट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको आफ्नो भ्रमण छोट्याएका छन्।

उनको कामचलाउ सरकारले पाकिस्तानमा आम निर्वाचनको नेतृत्व गरिरहेको छ, जुन केवल तीन हप्ता मात्र बाँकी छ र चुनावपूर्व नै निर्वाचन स्वच्छ तथा स्वतन्त्र रूपमा सम्पन्न हुनेमा आशङ्का व्यक्त गरिएको छ। एएफपी

प्रकाशित मितिः २०८० माघ ०५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय