काठमाडौंमा राति जहाज राख्न नपाउने नियममा कडाइ गरिने

भक्तपुर न्यूज

५ माघ २०८० ९:३०

काठमाडौंमा राति जहाज राख्न नपाउने नियममा कडाइ गरिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै वायुसेवा कम्पनीलाई काठमाडौंमा रात्रि बिसान नगरी मोफसलमा लैजान विमानस्थलले तोकिदिएको थियो ।

तर कार्यान्वयन फितलो भएसँगै कडाइ गर्ने निर्णय गरिएको विमानस्थल महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । महाप्रबन्धक तिवारीका अनुसार अहिले जहाज प्राविधिक कारण काठमाडौंमा रोक्नुपरेको, मौसमका कारण काठमाडौं फर्काउनुपरेको भन्दै बहाना बनाउने गरेका छन् ।

आगामी दिनमा जहाज टेक्निकल भएको भन्ने कम्पनीले ‘टेक्निकल लगबुक’ देखाउनुपर्ने छ । यसले जहाज साँच्चिकै प्राविधिक कारण बिग्रिएको वा बहाना बनाइएको भन्ने खुल्ने छ । प्राधिकरणले यो नियम कडाइ गरेसँगै बुद्ध एयरका नौ, श्री एयरलाइन्सका तीन र यती एयरलाइन्स, सीता एयर, नेपाल वायुसेवा निगम र तारा एयरका एक/एक जहाज रात्रि बिसानका लागि काठमाडौं बाहिरका विमानस्थल लैजानुपर्ने भएको छ ।

काठमाडौंमा जहाज पार्किङमा चाप हुँदा निम्तिन सक्ने जोखिम कम गर्ने र काठमाडौं बाहिरका जिल्लाका यात्रुलाई पहिलो उडानबाट काठमाडौं ल्याउन सहज हुने भएकाले समेत यस्तो निर्णय गर्नुपरेको महाप्रबन्धक तिवारीले जानकारी दिए । यसको कार्यान्वयनबाट बिहान काठमाडौंको आकासमा हुने अधिक चाप व्यवस्थापनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

प्रकाशित मितिः २०८० माघ ०५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय