काठमाडौं । कतारमा जारी एसियन कप फुटबलमा उपाधि दाबेदार जापान, इरान र युएईले विजयी सुरुवात गरेका छन्। आइतबार भएको खेलमा जापानले भियतनामलाई ४-२ गोल अन्तरले पराजित गर्दा अर्को खेलमा युएईले हङकङलाई ३-१ ले हरायो। त्यस्तै आइतबार राति नै भएको खेलमा इरानले प्यालेस्टाइनमाथि ४-१ को जित निकाल्यो।
आइतबार भएको खेलमा जापानले टकुमी मिनामिनोको दुई गोलमा भियतनाममाथि जित हासिल गरेको हो। ११ औं मिनेटमा मिनामिनोको गोलमा जापानले अग्रता लिएको थियो। तर १६ औं मिनेटमा भियतनामले नगुएन दिनबेकको गोलमा खेल बराबरीमा ल्यायो। फाम टुन हाइले ३३ औं मिनेटमा गोल गर्दा भियतनामले खेलमा २-१ को अग्रता बनायो।
तर ४५ औं मिनेटमा मिनामिनोले व्यक्तिगत दोस्रो गोल गर्दे खेल बराबरीमा ल्याउँदा एक मिनेट पनि नबित्दै केइटो नकुमुराले खेलमा जापानलाई अग्रता दिलाए। जापानका लागि चौंथो गोल ८५ औं मिनेटमा आयसी युएडाले गरेका थिए।
त्यस्तै, अर्को खेलमा युएईले दुई पेनाल्टीको सहयोगमा हङकङलाई ३-१ ले हरायो। ३४ औं मिनेटमा सुल्तान अदिलको पेनाल्टीमा अग्रता बनाएको युएई विरुद्ध हङकङले ४९ औं मिनेटमा फिल चान सिउ कवानको गोलमा बराबरी गोल फर्कायो। तर ५२ औं मिनेटमा जयाद सुल्तानले युएईलाई अग्रता दिलाउँदा तेस्रो गोल ९० औं मिनेटमा पेनाल्टीमार्फत याह्या अल घासाइनीले गरेका थिए।
त्यस्तै, आइतबारकै अर्को खेलमा इरानले प्यालेस्टाइनलाई ४-१ ले हरायो। इरानका लागि अनसारीफरिद, खालिजादि, घयदी र अजमौनले गोल गर्दा प्यालेस्टाइनका लागि तमिसर सेयमले एक गोल फर्काएका थिए। एसियन कपअन्तर्गत सोमबार दक्षिण कोरायले बहराइन, इन्डोनेसायले इरा र मलेसियाले जोर्डनको सामना गर्ने छ।
प्रकाशित मितिः २०८० माघ ०१ सोमबार
Comments