पाकिस्तानमाथि न्युजिल्यान्डको लगातार दोस्रो जित

भक्तपुर न्यूज

१ माघ २०८० ३:५३

पाकिस्तानमाथि न्युजिल्यान्डको लगातार दोस्रो जित

काठमाडौं । न्युजिल्यान्ड भ्रमणमा रहेको पाकिस्तानले पाँच खेलको टी-२० सिरिजमा लगातार दोस्रो हार भोगेको छ। हेमिल्टनमा आइतबार भएको दोस्रो टी-२० मा घरेलु टोली न्युजिल्यान्ड २१ रनले विजयी भएको हो। यो सँगै न्युजिल्यान्डले सिरिजमा २-० को अग्रता बनाएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो। न्युजिल्यान्डका लागि ओपनर फीन एलनले ७४ रन बनाउँदा कप्तान केन विलियमसनले २६ तथा मिचेल स्यान्टनरले २५ रन बनाए। त्यस्तै डेभन कन्वेले २० रन बनाउँदा ड्यारी मिचेलले १७ तथा ग्लेन फ्लिपले १३ रन बनाएका थिए। पाकिस्तानका लागि हरिस रउफले ३ विकेट लिंदा अब्बास अफ्रिदीले २ तथा अमरी जमल र उस्मान मिरले समान १-१ विकेट लिएका थिए।

१ सय ९५ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९.३ ओभरमा अलआउट हुँदै १ सय ७३ रनमा समेटियो। पाकिस्तानका लागि बाबर अजामले ६६ रन बनाउँदा फखर जमानले ५० रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै सहिन साह अफ्रिदीले २२ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो रनको स्कोर बनाउन सकेनन्। न्युजिल्यान्डका लागि आदम मिल्नेले ४ विकेट लिँदा टिम साउदी, बेन सियर्स र इश सोधीले समान २-२ विकेट लिए। यसअघि शुक्रबार भएको पहिलो टी-२० मा न्युजिल्यान्ड ४६ रनले विजयी भएको थियो। अब तेस्रो टी-२० बुधबार हुने छ।

प्रकाशित मितिः २०८० माघ ०१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय