पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ आजदेखि

भक्तपुर न्यूज

२९ पुष २०८० ५:४६

पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ आजदेखि

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको अन्तिम सुनुवाइ हुँदैछ । सुनुवाइका लागि रौतहट जिल्ला अदालतमा पेसी तोकिएको छ । विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा आलमलगायत ११ जनाविरुद्ध दायर रिटमा आजदेखि अन्तिम सुनुवाइ हुन लागेको हो ।

यसअघि गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएमा आदेश बमोजिम मंसिर २४ वादी र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएका थिए । मुद्दामा सर्वोच्च अदालतले छिटो किनारा लगाउन दबाबसमेत दिएको थियो।

२०७६ साल कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा दर्ता भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा आलमसहित ११ जना थुनामा छन् । त्यस्तै, २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनताका रौतहटको साविक राजपुर फरहदवा गाबिस–४ मा निर्वाचन जित्न विस्फोटक पदार्थ संकलन गरी राखेको अवस्थामा विस्फोट हुँदा बम बनाउँदै गरेका पिन्टु भनिने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए।

आलमले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विस्फोटक पदार्थ र हातहतियार तयार गरेका थिए । सांसद उम्मेदवारसमेत रहेका आलमले पोल खुल्ने डरले घाइते भएका पिन्टु र मियाँलाई आफ्नै इँटाभट्टाको चिम्नीमा जलाई मारेको आरोप उनीमाथि छ ।

प्रकाशित मितिः २०८० पौष २९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय