धनगढीलाई हराउँदै ललितपुर सिटीले जित्यो एनएसएलको उपाधि

भक्तपुर न्यूज

१५ पुष २०८० ५:३४

धनगढीलाई हराउँदै ललितपुर सिटीले जित्यो एनएसएलको उपाधि

काठमाडौं । ललितपुर सिटी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि शनिबार जितेको छ। दशरथ रंगशालामा भएको फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३–२ गोलअन्तरले हराएको हो।

ललितपुर पहिलो फाइनलमै उपाधि जित्न सफल भयो पनि । टोलीलाई जित दिलाउन इमोह एजेकेलले दुई तथा दिनेश हेन्जनले एक गोल गरेका थिए।

पहिलो गोल बेहोरेर पछि परेको ललितपुरका लागि इमोहले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। उनले डिबक्स भन्दा बाहिरबाट गरेको फ्रिकिकलाई सीधै गोलमा परिणत गरेका थिए । बल धनगढीका गोलकिपर मोहम्मद टाहाको नजिकै आए पनि उनले बचाउन सकेनन्।

यो गोलसँगै पहिलो हाफ १–१ बराबरीमा सकियो। यो गोल नै ललितपुरका लागि टर्निङ प्वाइन्ट भएको कोच एन्ड्रुयुले बताएका थिए। नभन्दै दोस्रो हाफ शुरु भएको केही क्षणमै ललितपुर अग्रता बनाउन पनि सफल भयो।

५०औं मिनेटमा बायाँ विंगबाट आदित्य शाक्यले बल धनगढीको बक्समा ल्याए। उनले बल दिनेशतिर पास गरे । यही पासमा दिनेशले कुनै गल्ती नगरी गोल गरे। यो गोलले ललितपुरलाई २–१ अग्रतामा राख्यो।

५८औं मिनेटमा इमोहले उत्कृष्ट गोल गरे। अनन्त तामाङले दिनेशको लागि बल पास गरे। दिनेशले त्यो बललाई क्रस गरे तर, रिचार्ड अग्यमाङले क्लियर गरेको बल पापा केबेको मुखमा लागेर पोस्ट तिर गयो।

गोलकिपर टाहाले त्यो बल बचाउन अघि बढेका थिए। तर, उनी बलसम्म पुग्न अघि नै इमोहले ओभर हेड प्रहार गर्दै उत्कृष्ट फिनिस गरे। यो गोलसँगै ललितपुर ३–१ को सुरक्षित अवस्थामा पुगेको थियो।

ललितपुरको प्लेअफ यात्रा नै कठिन भएको थियो। ललितपुर लिग चरणमा काठमाडौंसँग पराजित भएको थियो। तर, गोलभिन्नताको आधारमा झापालाई पछि पारेर ललितपुर चौथो स्थानमा रहेर प्लेअफमा पुगेको थियो।

इलिमिनेटर खेलमा ललितपुरले काठमाडौंलाई ३–० ले हरायो भने दोस्रो क्वालिफायर खेलमा पोखरा थन्डर्सलाई २–१ ले हराएर फाइनलको यात्रा तय गरेको थियो। पोखरा लिगमा पहिलो स्थान लिएको टोली थियो। फाइनलमा लिगमा दोस्रो स्थानमा रहेको धनगढीलाई पनि हराएर ललितपुरले अन्ततः उपाधि नै हात पार्‍यो।

प्रकाशित मितिः २०८० पौष १५ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय