गौशालाबाट अपहरणमा परेकी बालिकाको भक्तपुरबाट उद्धार, एकजना पक्राउ
काठमाडौं । गौशालाबाट दुई वर्षीय बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–५ घर भएका राज नेपाल छन् ।
उनले काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट दुई वर्षीय बालिकालाई लिएर गएका हुन् । आरोपीले पठाओमा चढाएर बालिकालाई भक्तपुरस्थित दधिकोटमा लगेर राखेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले बताए ।
बालिकाका अभिभावक पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरूले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् । आरोपीले प्रहरीसँग ती बालिका आफ्नै बच्चा भएको जिकिर गरेका छन् ।
अफलाइन पठाओमा चढाएर बालिका लगेको हुनाले प्रहरीले सिसिटिभीको सहायताले अनुसन्धान गरेर उनलाई पक्राउ गर्न सफल भएको छ । आरोपीविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुङ्गेलले जानकारी दिए ।
प्रकाशित मितिः २०८० पौष १२ बिहिबार
