छाला राम्रो बनाउने क्रममा हुन सक्छन् यी गल्ती

भक्तपुर न्यूज

११ पुष २०८० ४:५३

छाला राम्रो बनाउने क्रममा हुन सक्छन् यी गल्ती

काठमाडौं । के हजुरहरुले अनुहारमा जम्मा भएको फोहोर तथा मेकअप हटाउनका लागि मेकअप वाइप्स् वा सिट्सहरुको प्रयोग गरिरहनु भएको छ? छ भने यो बानी छालाको हेरचाहका हिसाबले राम्रो होइन। हामी प्रयोग गर्ने ती वाइप्स्हरु प्राय अल्कोहलको प्रयोग गरी निर्माण गरिने हुनाले यस्ता सामग्रीहरुले छालालाई सुख्खा बनाउने गर्छ। यदि यस्ता वाइप्स्हरु प्रयोग गरेको अवस्थामा सकेसम्म अल्कोहल प्रयोग नगरी निर्माण गरिएका वाइप्स्हरु प्रयोग गर्नु छालाको हेरचाहका हिसाबले राम्रो मानिन्छ।

म्याद नाघेको सौन्दर्य सामग्रीहरुको प्रयोग
कतिपयले थाहा हुँदाहुँदै तथा थाहा नहुँदै पनि म्याद नाघेका सौन्दर्यका सामग्रीहरु प्रयोग गर्ने गर्छन्। यस प्रकारका सामग्रीहरुले छालाको हेरचाह तथा सुरक्षाका लागि गर्नुपर्ने काम नगर्न सक्छन्। यदि हामीले म्याद गइसकेको सन् स्क्रिनको प्रयोग गरेमा त्यसले हाम्रो छालालाई गर्नुपर्ने सुरक्षा आवश्यक मात्रामा गर्न सक्दैन।

त्यस्तै कुनै सामग्री खोलेर लामो समयसम्म खुल्ला राख्दा त्यसको मिति सकिनु अगाडि नै त्यस्ता सामग्रीहरुले काम नगर्न पनि सक्छन्। लामो समयसम्म छालाको सुरक्षाका लागि प्रयोग गरिने सामग्रीहरुलाई खुलारुपमा राख्दा घाम, हावा वा ब्याक्टेरियासँगको सम्पर्कका कारण प्रयोग गर्न नमिल्ने भइसकेका हुन्छन्। त्यसकारण यस्ता सामग्रीहरु प्रयोग गर्न सुरु गरेपश्चात् नियमित रुपमा गर्नु राम्रो हुन्छ।

चामल भिजाएको पानीले मुख सफा गर्ने प्रचलन
आजभोली चामल भिजाएको पानीले मुख सफा गर्ने प्रचलन बढ्दै गएको पाइन्छ। यद्यपि यस प्रकारको पानीको प्रयोग सुख्खा छाला हुनेहरु तथा चायाँ पोतोको समस्या हुनेहरुका लागि हितकर मानिदैंन। यस्तो पानीको प्रयोगले छालामा सुख्खापनको मात्रा अझै बढ्ने भएकोले भइरहेको समस्या अझै बढ्ने गर्छ।

दाह्री काटिसकेपछि फिटकिरीको प्रयोग गर्नु
प्राय केटा मान्छेहले दाह्री काटिसकेपछि फिटकिरीको प्रयोग गर्ने गर्छन्। जुन बानी छालाको हेरचाहका हिसाबले राम्रो मानिँदैन। यसको प्रयोगले छालालाई सुख्खा तथा ड्यामेज गराउन समेत सक्छ। यसको साटोमा दाह्री काटिसकेपछि राम्रो खालको मोस्चराइजर प्रयोग गरेको राम्रो मानिन्छ।

टोनरको प्रयोग
बजारमा पाइने प्राय टोनरहरुमा अल्कोहलको प्रयोग गरिएको हुन्छ। यसको प्रयोगले तत्कालका लागि छालालाई मुलायम तथा राम्रो देखाएपनि कालान्तरमा छालालाई सुख्खा बनाउने गर्छ। त्यसकारण सकेसम्म छालाको स्याहारको हिसाबले टोनरको प्रयोग नगरेकै राम्रो मानिन्छ। यदि टोनरको प्रयोग गर्ने परे अल्कोहलको प्रयोग नभएको टोनरको प्रयोग गर्न सकिन्छ।

स्क्रप्ब फेसवासको प्रयोग गर्नु हुँदैन
अधिकांश डन्डीफोरको समस्या भएकाहरु तथा चिल्लो छाला भएकाहरुले स्क्रप्ब फेसवासको प्रयोग गरेको पाइन्छ। त्यस्ता फेसवासको प्रयोगले तत्कालै छालालाई चम्किलो बनाएपनि लामो समयपछि ड्यामेज गराउन सक्ने हुनाले यस प्रकारको फेसवासको प्रयोग छालाको हेरचाहको दृष्टिकोणले लामो मानिदैंन।

कडा खालको पिल्सको प्रयोग गर्नु
आजभोली छाला राम्रो बनाउनका लागि धेरैले कडा खालको पिल्सको प्रयोग घरमा नै गरेको पाइन्छ। यसरी चिकित्सकको सल्लाहबिना घरमा नै पिल्सको प्रयोग हुँदा त्यसको सही रुपमा प्रयोग नभई छालालाई राम्रो बनाउनुको साटो विभिन्न प्रकारका समस्याहरु ल्याउन सक्छन्। यस्ता पिल्सको प्रयोगले छाला रातो बनाउने, एलर्जी गराउने तथा छालालाई ड्यामेज गराउने जस्ता समस्याहरु आउन सक्ने भएकोले चिकित्सकको सल्लाहअनुसार मात्रै यस्ता पिल्सको प्रयोग गर्नुपर्ने हुन्छ। साथै यस्ता पिल्सहरुको प्रयोग पश्चात् घामबाट एकदमै जोगिनुपर्ने हुन्छ।

प्रकाशित मितिः २०८० पौष ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय