हमास–इजरायल युद्धमा पछिल्लो २४ घण्टामा २ सय ४१ जनाको मृत्यु
काठमाडौं । प्यालेस्टिनी समूह हमासको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा गाजामा इजरायली सेनाको आक्रमणमा परी कम्तीमा २४१ जनाको मृत्यु भएको बताएको छ। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले उक्त आक्रमण आफ्नो जनता विरुद्धको ‘जघन्य अपराध’ भएको बताएका छन्।
इजरायलका सेना प्रमुख हर्जी हलेभीले भने हमाससँगको तनाव अझै कैयौं महीना लम्बिने बताए। मध्य गाजामा आक्रमणको योजना बुनिंदै गरेको प्रतिवेदनका बीच इजरायलले मंगलबार मात्रै एक सयभन्दा बढी स्थानमा हमला गरेको थियो। बुधबारको शुरूआती प्रहरमा गाजापट्टीमा भएको हमलामा ठूला विस्फोटका आवाज इजरायलको परिधि वरपरसम्म सुनिएको थियो।
बीबीसीले गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै उल्लेख गरे अनुसार पछिल्लो २४ घण्टामै उक्त आक्रमणमा परी ३८२ मानिस घाइते भएका छन्। मन्त्रालयका अनुसार गत अक्टुबर ७ यता युद्धमा हालसम्म कम्तीमा २० हजार ९१५ प्यालेस्टिनी मारिएका छन्। ११ साता यताको युद्धमा धेरैजसो महिला र बालबालिका मारिएका छन्।
बीबीसीका अनुसार युद्धरत पक्षहरूको दाबीको स्वतन्त्र रूपमा पुष्टि भने भइसकेको छैन। हमासको हमलामा परी इजरायलमा भने करीब एक हजार २०० मानिस मारिएको बताइएको छ। एजेन्सी
प्रकाशित मितिः २०८० पौष ११ बुधबार
