त्रिभुवन विमानस्थलमा सीसी क्यामेराको स्टोरेज क्षमता बढाइयो

भक्तपुर न्यूज

१० पुष २०८० १०:०९

त्रिभुवन विमानस्थलमा सीसी क्यामेराको स्टोरेज क्षमता बढाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडित सीसीटीभी क्यामेराको स्टोरेज क्षमता ६१ दिन पुर्‍याइएको विमानस्थल प्रशासनले स्पष्टीकरण दिएको छ । विमानस्थलभित्र ५ सय वटा सीसीटीभी क्यामेरा जडान भएको र त्यसमध्ये केहीको स्टोरेज २१ दिन मात्र रहेको स्वीकार कार्यालयले गरेको छ । त्यसलाई विस्तार गरी अहिले भने ६१ दिन पुर्‍याइएको कार्यालयले जानकारी दिएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले यसअघि बढीमा २९ दिनसम्म स्टोरेज क्षमता मात्र रहने गरेकोमा यस आवबाट क्षमता ३ महिनासम्मको हुने गरी काम थालिएको बताएका छन् । उनका अनुसार १६ टीबी क्षमताको ३६ वटा हार्डडिस्क जडान गरिएको छ । यो २७ असोज २०८० मा सरोकारवालाको बैठक बसी कार्य अगाडि बढाइएको उनले बताएका छन् ।

यसअघि विमानस्थलले आव २०७८/७९ मै ३ महिना स्टोरेज क्षमता बढाउन बजेट माग गरेपनि नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोनाका कारण देखाउँदै बजेट नदिएको उनले बताएका छन् । विमानस्थल भित्रका सीसीटीभीको जडानको काम विमानस्थल प्रशासनले गरेपनि अपरेशन र सर्वेलेन्सको काम नेपाल प्रहरीले गर्दै आएको समेत विमानस्थल प्रशासनले बताएको छ ।

भन्सार कार्यालयले मागेको विषयमा समेत सूचनाहरु भएसम्मको उपलब्ध गराइएको महाप्रबन्धक तिवारीले बताएका छन् । यसअघि भन्सार विभागले २१ दिन भन्दा अगाडिका फुटेज नपाइएको बताएको थियो । महाप्रबन्धक तिवारीका अनुसार विमानस्थल भित्र १७० भन्दा बढी निकाय कार्यरत छन् ।

प्रकाशित मितिः २०८० पौष १० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय