निकोबार टापू क्षेत्रमा फसेका दुई सय रोहिङ्ग्याको उद्धार गर्न आग्रह

भक्तपुर न्यूज

८ पुष २०८० १०:४७

निकोबार टापू क्षेत्रमा फसेका दुई सय रोहिङ्ग्याको उद्धार गर्न आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले हिन्द महासागरको अण्डमान र निकोबार टापू नजिकै डुङ्गामा सवार महिला र बालबालिकासहित १८५ जना रोहिङ्ग्या आप्रबासीको तत्काल उद्धार गर्न शनिबार आह्वान गरेको छ।

जहाजमा सवारमध्ये ७० जना बालबालिका र ८८ जना महिला रहेको राष्ट्रसङ्घीय शरणार्थी निकाय (यूएनएचसीआर)द्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘कम्तीमा एक दर्जनको अवस्था गम्भीर रहेको आशङ्का गरिएको छ र एक जनाको मृत्यु भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ।

समयमै उद्धार गरी नजिकको सुरक्षित स्थानमा ओर्लिन नसके धेरै तटीय राज्यहरूको निगरानीका कारण धेरैको मृत्यु हुन सक्छ। यूएनएचसीआरका प्रवक्ता बाबर बलोचले एएफपीसँग कुरा गर्दै जहाजमा सवार व्यक्तिहरू रोहिङ्ग्या शरणार्थी भएको र एजेन्सीले यस क्षेत्रका सबै तटीय अधिकारीहरूलाई तत्काल उद्धार गर्न अपिल गरिरहेको बताएका छन्।

उनले भने, ‘यो वास्तवमै एक निराशाजनक अवस्था हो।’ म्यान्मामा अत्यधिक उत्पीडनमा परेका हजारौं मुस्लिम रोहिङ्ग्याहरू हरेक वर्ष म्यानमार र बङ्गलादेशका शरणार्थी शिविरहरूबाट जोखिमपूर्ण समुद्री यात्रा गरी मलेसिया वा इन्डोनेसिया पुग्ने प्रयास गर्छन्।

युएनएचसीआरका अनुसार सन् २०२२ मा दुई हजारभन्दा बढी रोहिङ्ग्याले जोखिमपूर्ण यात्रा गरी विभिन्न मुश्लिम बहुल एशियाली मुलुक पुगेका थिए। गत वर्षदेखि यस क्षेत्रमा रोहिङ्ग्या शरणार्थीसहित ५७० भन्दा बढी व्यक्तिको हताहत भएको बताइएको छ।

प्रकाशित मितिः २०८० पौष ०८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय