इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका चार अभियुक्त पक्राउ

भक्तपुर न्यूज

५ पुष २०८० ५:३६

इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका चार अभियुक्त पक्राउ

काठमाडौं । इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका चार जना फरार प्रतिवादीलाई पक्राउ गरी नेपाल ल्याइएको छ। विभिन्न सदस्य राष्ट्रहरूसँग समन्वय गरी चार जना अभियुक्तलाई नेपाल फर्काएको प्रहरीले जनाएको छ। युएईको दुबईबाट तीन जना र कुवेतबाट एक जनालाई नेपाल फर्काइएको हो।

विद्युतीय कारोबारको कसूरमा फरार रहेका प्युठान सरूमारानी गाउँपालिका-१ का ३३ वर्षीया सगीर अहमदलाई बुधबार नेपाल फिर्ता ल्याइएको थियो। अनुसन्धानको क्रममा युएईमा रहेको खुलेपछि गत भदौ २० गते उनीविरूद्ध रेड कर्नर नोटिस जारी भएको थियो। उनलाई प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याएको थियो।

यसैगरी जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका स्याङजा वालिङ नगरपालिका-११ भोर्लेका ३५ वर्षीय गोपाल भन्ने यामबहादुर बुढाथोकीलाई पनि बुधबार नेपाल फिर्ता ल्याइएको हो। उनीविरूद्ध २०७९ जेठ १८ गते रेड कर्नर नोटिस जारी भएको थियो। उनी पनि दुबईमा पक्राउ परेका हुन्।

यसअघि जबरजस्ती करणी मुद्दामा फरार रहेका काभ्रे चौरीदेउराली गाँउपालिका-८ घर भएका ३१ वर्षीय उमेश लामालाई कुवेतबाट र ठगी मुद्दामा फरार रहेका सर्लाही साबिक जानकीनगर गाविस-७ का कोमल राज उपाध्यायलाई दुबईबाट पक्राउ गरिएको थियो। उनीहरूलाई मंसिर २९ गते नेपाल फिर्ता ल्याइएको थियो।

प्रकाशित मितिः २०८० पौष ०५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय