हरिवंशले ल्याए चेलीबेटी बेचबिखनविरुद्धको गीत ‘हिंड माया हिंड’
काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले चेलबेटी बेचबिखनसम्बन्धी नयाँ गीत ल्याएका छन्। यसअघि चेलबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिँड माया हिँड’ बोलको गीत ल्याएका हुन्।
माइती नेपालको प्रस्तुतिमा बनेको यो गीतमा हरिवंशकै शब्द र संगीत छ। स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन्। हरिवंश यो समस्या समाधान नभएसम्म यस विषयमा निरन्तर जनचेतनामूलक गीत गाइरहने बताउँछन्।
साहस शाक्यको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरु प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओली लगायत कलाकारको अभिनय छ। गम्भिर विष्टको कन्सेप्ट र निर्देशन रहेको यो गीतको भिडियोमा कसरी गाउँ–गाउँबाट युवतीहरुलाई ललाई फकाई गरेर विदेश पुर्याइन्छ भन्ने कथा देख्न सकिन्छ। पवन सुस्लिङले खिचेको यो गीतको भिडियो सम्पादन प्रविण भट्टले गरेका हुन्।
प्रकाशित मितिः २०८० मंसिर २९ शुक्रबार
