रूसी सेनामा भर्ती भएका नेपालीलाई उद्धार गरिदिन परिवारले दिए आवेदन

भक्तपुर न्यूज

२८ मंसिर २०८० ११:४४

रूसी सेनामा भर्ती भएका नेपालीलाई उद्धार गरिदिन परिवारले दिए आवेदन

काठमाडौं । रूसी सेनामा भर्ती भएका ३० जना नेपाली युवालाई उद्धार गरी फर्काउन नेपालमा रहेका उनीहरुका परिवारले सरकारसँग गुहार मागेका छन् । सम्बन्धित परिवारले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा गई उनीहरुको उद्धार गर्न आवेदन दिएका हुन् । करिब डेढ महिनाको अवधिमा यी आवेदन परेका हुन् ।

आवेदन परेपछि उनीहरुको उद्धारमा सहजीकरण गरिदिन भन्दै विभागले रूसको मस्कोस्थित नेपाली दूतावास र जर्मनीको बर्लिनस्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ । मस्को र बर्लिनस्थित नेपाली दूतावासले उद्धारको लागि पहल गरिरहेका छन् ।

रूसी सेनामा भर्ना भएकाहरुले आफूहरुलाई युद्ध मैदानमा पठाएको र घेराबन्दी परेको भन्दै उद्धारको लागि पहल गरिदिन नेपालमा रहेका आफ्ना परिवारलाई गुहारेका थिए । त्यसपछि परिवारका सदस्यहरू कन्सुलर सेवा विभागमा गएर उद्धारको लागि पहल गरिदिन अनुरोध गरेका हुन् । रूसी सेनामा भर्ना भएकामध्ये युक्रेनसँगको युद्धमा हालसम्म ६ जना नेपाली युवाको मृत्यु भइसकेको छ । तीन जनालाई युक्रेनी सेनाले नियन्त्रणमा लिई युद्धबन्दीको रुपमा राखेका छन् ।

रूसी सेनामा भर्ती हुन जानेको संख्या बढेपछि र भर्ती भएका नेपाली युवाहरु मारिन थालेपछि सरकारले यही मंसिर १८ गतेदेखि कडाइ गरेको थियो । परराष्ट्र मन्त्रालयले मंसिर १८ गते विज्ञप्ति जारी गर्दै रूसलाई नेपाली युवालाई सेनामा भर्ती नगर्न र भर्ती भएकालाई तत्काल फिर्ता पठाउन भनेको थियो ।

परराष्ट्र मन्त्रालयले सोही विज्ञप्तिमा भनेको थियो, “सरकारी कामकाज, रूसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरूलाई रूस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्नुहुन सर्वसाधारण सबैमा यस मन्त्रालय हार्दिक अपिल गर्दछ ।”

सरकारले कडाइ गरेपछि रूस जानको लागि मंसिर १८ गतेयता हालसम्म ४ जनाले विभागबाट एनओसी लिएका छन् ।

“हालसम्म रूस जानको लागि चार जनाले एनओसी लिएका छन् । उनीहरू सबै जना श्रम स्वीकृति लिएर रूसी कम्पनीमा काम गर्न जान लागेका हुन्,” विभागका महानिर्देशक पौडेलले भने ।

प्रकाशित मितिः २०८० मंसिर २८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय