यु-१९ एसियाकप: औपचारिकताका लागि भारतसँग भिड्दै नेपाल
काठमाडौं । नेपालले एसिसी यू-१९ एसिया कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा मंगलबार भारतको सामना गर्दैछ। नेपाली समय अनुसार बिहान ११:१५ मा दुबईको आइसिसी एकेडेमी ओभलको मैदानमा सुरु हुने खेलमा जितविहीन नेपालको औपचारिक्ता बाँकी रहँदा भारत भने अघिल्लो चरणका लागि नेपाललाई हराउनै पर्ने दबाबमा छ।
दुई खेलमा फराकिलो हार कमजोर रन रेटका कारण नेपाल लगभग बाहिरिसकेको छ। गणितीय सम्भावना मात्र बाँकी रहेको नेपालबाहेक बाँकी तीन टिम भने सेमिफाइनल प्रवेशको भिडन्तमा अन्तिम खेल आफ्नो पक्षमा पार्दै अन्तिम चारको यात्रा तय गर्ने ध्याउनमा रहेका छन्।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको नेपाल भारतसँग ठूलो अन्तरको जित र अफगानिस्तानको फराकिलो अन्तरको हारले मात्र सेमिफाइनलको रेसमा हुनेछ। जुन सम्भावना निकै कमजोर छ।
नेपालको नेट रन रेट माइनस २.०२४, रहँदा भारतको ०.४५४ र अफगानिस्तानको ०.२०३ रहेको छ। पाकिस्तान भने ४ अंक सहित १.५६३ रनरेट सहित पाकिस्तान सेमिफाइनल यात्रामा सर्वाधिक अघि रहेको छ। भारत र नेपालबीच पछिल्ला ५ यू-१९ खेलमा नेपाल एकपटक भारतलाई हराउन सफल भएको छ। २०१७ मा यू-१९ एसियाकपमा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो।
तत्कालीन कप्तान दीपेन्द्रसिंह ऐरीले ८८ रन तथा ४ विकेट लिँदै अलराउन्ड प्रदर्शन गर्दा भारत पराजित भएको थियो। त्यसपछि २०१८ मा पछिल्लो पटक नेपाल र भारत उमेर समूहमा भिडेका थिए। जहाँ भारतले १ सय ७१ रनको फराकिलो जित निकाल्यो। त्यसअघिका खेलमा पनि नेपालले भारतलाई हराउन सकेको थिएन।
प्रकाशित मितिः २०८० मंसिर २६ मंगलबार
