राजाको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जिम्बावेको रोमान्चक जित

भक्तपुर न्यूज

२२ मंसिर २०८० ५:४८

राजाको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जिम्बावेको रोमान्चक जित

काठमाडौं । अलराउन्डर सिकन्दर राजाको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जिम्बावेले पहिलो टि-२० आई खेलमा आयरल्यान्डमाथि एक विकेटको रोमान्चक जित हात पारेको छ। तीन खेलको सिरिजमा घरेलु टोली जिम्बावेले १-० को अग्रता लिएको छ।

जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले २० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो। अन्तिम बलमा ब्लेसिङ मुर्जाबानीले दुई रन बटुल्दै जित पक्का गराएका थिए। जिम्बावेको जितमा राजाले ४२ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिए।

वेस्ली मधेभेर २५ र क्लाइभ माडान्डे २० रनमा आउट भए। आयरल्यान्डका मार्क आदिर, जोश लिटिल, ब्यारी म्याकार्थी र क्रेग योंगले समान दुई विकेट लिए। त्यसअघि हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो।

आयरल्यान्डका एन्डी बालबर्नीले २५ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ३२ रन बनाए। ह्यारी टेक्टर २४, लोर्कान टकर २१, कप्तान पल स्टर्लिङ १४ र ग्यारेथ डेलानी २६ रन बनाए। जिम्बावेका सिकन्दर राजाले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। ब्लेसिङ मुर्जाबानी र रिचर्ड न्गारावले समान २ विकेट लिए । दोस्रो खेल शनिबार र तेस्रो खेल आइतबार हुनेछ।

प्रकाशित मितिः २०८० मंसिर २२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय