नाइजेरियाको सेनाले ड्रोनबाट बम खसाएपछि ८५ सर्वसाधारणको मृत्यु

भक्तपुर न्यूज

१९ मंसिर २०८० १०:४५

नाइजेरियाको सेनाले ड्रोनबाट बम खसाएपछि ८५ सर्वसाधारणको मृत्यु

काठमाडौं । पश्चिमी अफ्रिकी राष्ट्र नाइजेरियामा सरकारी सेनाको आक्रमणबाट ८५ सर्वसाधारणको ज्यान गएको छ । नाइजेरियाको सेनाले ड्रोनबाट बम खसाएपछि धार्मिक उत्सवमा भेला भएका ८५ जनाको मृत्यु भएको हो ।

आइतबारको हिंस्रक घटनापछि सेनाले झुक्किएर धार्मिक उत्सवमा बम खस्न पुगेको स्पष्टीकरण दिएको छ । आइतबार राति कादुना राज्यको टुदुन बिरी गाउँमा धर्मावलम्बीहरू मुस्लिम धर्मगुरु प्रोफेट मोहम्मदको जन्मोत्सव मनाइरहेका थिए ।

सरकारी सेनाले आतंकवादी ठानेर ड्रोन बम हमला गर्दा उनीहरूको निधन भएको कादुनाका गभर्नर उबा सानीले बताएका छन् । राष्ट्रिय आपत्‌कालीन व्यवस्थापन एजेन्सीले मंगलबार एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म ८५ शवको अन्त्येष्टि गरेको बताएको छ । अन्य कयौँ बेपत्ताहरूको खोजी कार्य जारी राखिएको छ ।

नाइजेरियाको यो घटनामा अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले भने यस आक्रमणमा १२० जनाको मृत्यु भएको बताएको छ । यस घटनामा धेरै बालबालिका मारिएको एम्नेस्टीले जनाएको छ ।

चरमपन्थी र विद्रोही हमलाले नाइजेरियाको उत्तरपश्चिम र मध्य क्षेत्रका केही भागलाई ध्वस्त पारेको छ । देशका सेनाहरूले हवाई बमबारीका साथ सशस्त्र समूहको लुकेका ठाउँलाई बारम्बार निशाना बनाएका छन् । तर, कहिलेकाहीँ झुक्किएर गाउँमा बमबारी हुने गरेका छन् ।

प्रकाशित मितिः २०८० मंसिर १९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय