वीरमा टोमो थेरापी उपकरण जडानको तयारी

भक्तपुर न्यूज

२७ असार २०७४ २:२९

वीरमा टोमो थेरापी उपकरण जडानको तयारी

काठमाडौँ, २७ असार । वीर अस्पतालले टोमो थेरापी उपकरणको माध्यमबाट क्यान्सरका बिरामीको उपचार गर्ने तयारीमा जुटेको छ। ‘जुन सेलमा क्यान्सर देखिएको छ, त्यो सेललाई सेकी रेडिएसनमार्फत मार्न किलका लागि पछिल्लोपटक सो प्रविधि विकसित भएको हो। यो प्रविधिलाई वीर अस्पतालले पनि भित्र्याउँदै छ’ ,अस्पतालका निर्देशक प्रा डा भूपेन्द्र बस्नेतले भने।

हाल सो सेवा निजीस्तरका केही अस्पतालमा मात्र उपलब्ध छ। यो सेवा लिन रु दुई लाखसम्म बिरामीले खर्चिनुपर्छ। ‘टोमो थेरापी सेवा हामी पाँच हजारदेखि दश हजार रुपैयाँसम्ममा दिने तयारीमा छौँ, यसमा अति विपन्न, असहाय, गरिब बिरामीलाई भने निःशुल्क सेवा प्रदान गर्दैछौँ’ ,निर्देशक प्रा डा बस्नेतले भने।

स्वास्थ्य मन्त्रालयले यही आर्थिक वर्षमा उपकरण खरिद गरी सेवा सञ्चालनमा ल्याउन अस्पताललाई ४० करोड रुपैयाँको विनियोजन गरेको थियो। अस्पताल र अमेरिकाको एक्युरे कम्पनीबीच सो उपकरण खरिदका लागि सम्झौतासमेत भइसकेको छ। अस्पतालले उपकरण खरिद गर्न एलसी खोल्ने तयारीमा जुटेको छ।

क्यान्सरका बिरामीको उपचारका लागि प्रयोग हुँदै आएका कोवाल्ट र लिन ज्याक उपकरणभन्दा टोमो थेरापी सेवा अत्याधुनिक र नयाँ प्रविधि मानिन्छ। विगतमा वीर अस्पतालले ती दुवै प्रविधिद्वारा सेवा दिँदै आएकामा विगत केही वर्षदेखि दुवै उपकरण बिग्रिएर थन्किएका छन्।

हाल नयाँ र अन्यन्त्रबाट सिफारिस भइ आएका गरी दैनिक ५०र६० जना क्यान्सरका बिरामी अस्पतालमा आउने गर्छन्। उपकरणका अभावमा त्यस्ता बिरामीको उपचारका लागि अस्पतालले अन्य अस्पतालमा सिफारिस गर्ने गर्छन्।

नयाँ उपकरण जडान भइसकेपछि अस्पतालले दुई सिफ्टमा सेवा दिने तयारी गरेको छ। निर्देशक प्रा डा बस्नेतले भने, ‘क्यान्सर उपचारका लागि अस्पतालमा आएजति सबै बिरामीलाई सेवा दिन तयार छौँ।’

गरिब, विपन्न, असहाय क्यान्सर रोगीका बिरामीलाई सस्तो, सुलभ तथा अति विपन्नलाई निःशुल्कसमेत सेवा दिन र वीर अस्पतालले क्यान्सर उपचारमा अन्तर्राष्ट्रिय सेवा दिन सक्षम छ भन्ने सन्देश सेवाको सुरुवात्सँगै जाने अस्पतालले विश्वास गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *