बंगालको खाडीमा विकसित ‘मिचाउङ’ आँधीले भारतमा ५ जनाको मृत्यु

भक्तपुर न्यूज

१९ मंसिर २०८० ७:२०

बंगालको खाडीमा विकसित ‘मिचाउङ’ आँधीले भारतमा ५ जनाको मृत्यु

काठमाडौं । बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधीका कारण भारतमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । अविरल वर्षा र त्यसले सिर्जना गरेको अवस्थाका कारण हालसम्म पाँचजनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुने पाँचजनामध्ये दुईजनाको करेन्ट लागेर र एकजनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुईजनाको मृत्युको कारण खुल्न सकेको छैन । प्रतिकूल अवस्थाको पूर्वानुमान गर्दै तमिलनाडु सरकारले चेन्नईलगायत केही जिल्लामा बिदा दिएको छ ।

राज्यका सबै ठूला सुरुङहरू पानीले भरिएकाले बन्द गरिएका छन् । मिचाउङ’का कारण आएको भारी वर्षाका कारण चेन्नईलगायत धेरै जिल्लामा सडक डुबानमा परेको छ । चेन्नईका धेरै ठाउँमा रुख सडकमा ढलेका छन् । वर्षाका कारण चेन्नईको घरेलु र अन्तर्राष्ट्रिय विमानस्थलमा बाढी आएको छ ।

जसका कारण उडान र अवतरण रोकिएको छ । विमानस्थल प्रशासनले सोमबार रातिसम्मका सबै उडान रद्द गरेको थियो । करिब १५० उडान सेवा प्रभावित भएको छ । भारतको मौसम विभागका अनुसार उक्त चक्रवात चेन्नईबाट १३० किलोमिटर उत्तरमा रहेको छ ।

प्रकाशित मितिः २०८० मंसिर १९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय