सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा २९ स्वर्ण पदकसहित नेपाल च्याम्पियन
काठमाडौं । सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल च्याम्पियन बनेको छ । नेपालले थप २६ रजत र ६ कास्य पनि जित्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्य पदककासाथ दोस्रो भएको छ। नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा तेस्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कांस्य हात पार्यो। त्यस्तै ४ स्वर्ण, १ रजत र १९ कांस्यसाथ पाकिस्तान चौथो, २ स्वर्ण, ८ रजत र २९ कांस्यसाथ श्रीलंका (एनओसी) टिम पाँचौँ तथा २ कांस्यसाथ भुटान छैटौँ भए।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल कराँते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य–सचिव युवराज लामा, कराँते महासंघका महासविच दावा गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १०३ महिला र १३४ पुरुष गरी २३७ खेलाडी सहभागी थिए ।
प्रकाशित मितिः २०८० मंसिर १८ सोमबार
