प्रधानमन्त्रीका लागि उडान समय सार्दा दुबई जाने ३१ यात्रु छोडिए
काठमाडौं । नेपाल एअरलाइन्सले गएराति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा ३१ जना यात्रुलाई काठमाडौं विमानस्थलमै छाडेको छ ।
नेपाल एअरलाइन्सको काठमाडौं–दुबई उडान गएराति साढे ११ बजे रहेकोमा विशिष्ट व्यक्तिको उडान भएको भन्दै दुईघण्टा अगाडि सारिएको थियो । उडान तालिका सरेको थाहा नपाउने ३१ जना यात्रु दुबई जानबाट छुटेका हुन् । उनीहरु ढिलो गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा छुटेका नेपाल एअरलाइन्सका प्रवक्ता रमेश पौडेलले दाबी गरेका छन् ।
उडान तालिका सरेकोबारे सबै यात्रुलाई ईमेल र फोनमार्फत जानकारी गराए पनि केहीको फोन नउठेको तथा केहीको अन्य व्यक्तिले नै फोन उठाएका कारण सूचना नपुगेको उनको दाबी छ । तर छुटेका यात्रुहरुले भने उडान तालिका सरेकोबारे एअरलाइन्सले आफूहरुलाई थाहा नदिएको बताएका छन् ।
हिजो दुबई जान छुटेका ३१ जनालाई आजै पठाउने तयारी भएको पनि प्रवक्ता पौडेलले जानकारी दिए । उनीहरुलाई काठमाडौंकै एक होटलमा राखेको र आजै दुबई पठाउन समन्वय भइरहेको उनको भनाइ छ ।
प्रकाशित मितिः २०८० मंसिर १४ बिहिबार
