इङल्याण्डका रुट र स्टोक्सले आइपिएल नखेल्ने
काठमाडौं । इङल्याण्डका ब्याट्सम्यान जो रुटले आईपीएल २०२४ बाट आफ्नो नाम फिर्ता लिएका छन् । जो रुटले सन् २०२३ मा राजस्थान रोयल्सबाट आईपीएलमा डेब्यु गरेका थिए । राजस्थान रोयल्सले रुटले आइपिएलबाट आफ्नो नाम फिर्ता लिएको जानकारी दिएको हो । योसँगै जो रुट आईपीएलबाट बाहिरिने दोस्रो इङल्याण्डका क्रिकेटर बनेका छन् ।
उनीअघि अलराउन्डर बेन स्टोक्सले पनि आईपीएल नखेल्ने निर्णय गरेका थिए । आइपिएल २०२४ को लागि खेलाडीको अक्सन डिसेम्बर १९ मा हुदैछ । सबै टोलीले नोभेम्बर २६ (आज) मा खेलाडी रिटेन र रिलिज भएका खेलाडीको सूची आईपीएल प्रशासनलाई बुझाउनुपर्नेछ ।
भारतमा भएको एकदिवसीय विश्वकपमा सहभागी रहेका जो रुटलाई पनि वेस्ट इन्डिज भ्रमणबाट विश्राम दिइएको छ । डिसेम्बर ३ देखि वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय र ५ टी–२० खेलको सिरिजका लागि घोषणा गरिएको इङल्याण्डको टोलीमा जो रुट परेका छैनन् ।
रुटले एकदिवसीय विश्वकपका ९ खेलमा ३०.६६ को औसतमा २७६ रन बनाएका थिए । यस अवधिमा उनले ३ अर्धशतक पनि बनाए । आईपीएलको अन्तिम सिजनमा डेब्यू गरेका जो रुटलाई राजस्थान रोयल्सले २०२३ आईपीएलको मिनी लिलामीमा उनको आधार मूल्य १ करोड भारुमा समावेश गरेको थियो । ३ आईपीएल खेल खेल्दै उनले केवल १० रन मात्र बनाएका छन् ।
यसअघि इङल्याण्डका अलराउन्डर बेन स्टोक्सले पनि आइपिएल २०२४ बाहिरिने निर्णय गरेका थिए । सन् २०२३ मा चेन्नईले उनलाई १६.२५ करोडमा किनेको थियो । स्टोक्सले चेन्नईका लागि २ खेल मात्र खेलेका थिए ।
प्रकाशित मितिः २०८० मंसिर १० आइतबार
