इजरायलबाट बेपत्ता विपीन जोशी हमासको नियन्त्रणमा भएको पुष्टि

भक्तपुर न्यूज

४ मंसिर २०८० ५:१३

इजरायलबाट बेपत्ता विपीन जोशी हमासको नियन्त्रणमा भएको पुष्टि

काठमाडौं । इजरायलबाट बेपत्ता भएका कञ्चनपुरका विपीन जोशी गाजा क्षेत्रको एक अस्पतालमा सकुशल रहेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनलाई प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरेर लगेको अनुमान यसअघि गरिएको थियो ।

नेपाली राजदूतावास इजरायलले पनि एक विज्ञप्ति जारी गर्दै भनेको छ, “७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किब्बुजमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा नेपाली विद्यार्थी विपीन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्, “तथापि जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”

विपीन कञ्चनपुरका बासिन्दा हुन् भने उनी सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विद्यार्थी पनि हुन् । उनीसहित ४९ जना विद्यार्थीहरु ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत भदौको अन्तिम साता इजरायल गएका थिए । तर असोज २० गते हमासले गरेको आक्रमणमा परेर सोही समूहका १० विद्यार्थीको मृत्यु भएको थियो । सोही समूहमा रहेका विपीनलाई हमास समूहले साथमा लिएर गएको प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएका थिए । परराष्ट्र मन्त्री एनपी साउदका अनुसार कूटनीतिक नियोगबाट प्राप्त सूचनाअनुसार विपीन गाजा क्षेत्रमा बन्धक बनाएर राखिएको अवस्थामा रहेको पाइएको छ ।

प्रकाशित मितिः २०८० मंसिर ०४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय