दीपावलीमा अयोध्यामा २२ लाख दीप प्रज्वलन, गिनिज बुकमा विश्व रेकर्ड
काठमाडौं । दीपावलीको अवसरमा शनिबार राति उत्तर प्रदेशको अयोध्यास्थित सरयू नदीको घाटमा २२.२३ लाख दीप प्रज्वलन गरिएको थियो, जुन विश्व कीर्तिमान हो ।‘दीपोत्सव २०२३’ नाम दिइएको उक्त कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दी बेन पटेल दुवै उपस्थित थिए।
गिनिज बुक अफ वर्ल्ड रेकर्डका अधिकारीहरूले मुख्यमन्त्रीलाई नयाँ रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । यो रेकर्ड पुष्टि गर्न सरयु नदीका घाटको ड्रोनबाट निरीक्षण गरिएको थियो । यो दीपोत्सव कार्यक्रमले गत वर्षको कीर्तिमान तोड्यो । गत वर्ष अयोध्यामा दीपावलीको अवसरमा १५.७६ लाख माटोको दियो बालिएको थियो ।
संसारमा कतै पनि एकैपटक यति धेरै बत्ती बालिएको थिएन। हिन्दू धर्म अनुसार श्रीलंकाका राजा रावणको वध गरेर भगवान राम आफ्नो घर अयोध्या पुग्दा उनको स्वागतका लागि दीप प्रज्वलन गरिएको थियो ।
त्यसैले हिन्दु धर्मावलम्बीहरूले हरेक वर्ष कार्तिक अमावस्याका दिन दीपावली पर्व मनाउने गर्छन् ।
प्रकाशित मितिः २०८० कार्तिक २६ आइतबार
