जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय व्यवसायीलाई राष्ट्रपतिको आग्रह
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय र उद्यमी व्यवसायीलाई आग्रह गरेका छन् । नेपालको जलविद्युतमा लगानी गर्न चाहनेका लागि महत्वपूर्ण अवसर रहेको उनले चर्चा गरे ।
आजदेखि काठमाडौंमा सुरु भएको ‘एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन’को ३७ औँ सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायलाई उर्जा उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
उनले भने, ‘नेपालमा लगानीको अवसरहरु बढ्दै गएका छन् । लगानी सहज बनाउने कानूनहरु निर्माण भैसकेका छन् । अब भारत र बंगलादेश नेपाली विद्युतको बजार बन्दैछ । विद्युत व्यापारका क्षेत्रमा पपिछल्लो समय भएका प्रगतीले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ । नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न म सबैलाई आह्वान गर्दछु ।’
साथै राष्ट्रपति पौडेलले नेपालको पर्यटन, कृषि,सूचना प्रविधिलगायतका क्षेत्रपनि लगानीको प्रचुर सम्भावना भएको क्षेत्र रहेको भन्दै उक्त क्षेत्रमा लगानी बढाउन लगानीकर्तालाई आग्रह गरे । ‘प्राकृतिक विविधतायुक्त नेपालले पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेको छ । यसमा आज हुने लगानीले भोली प्रतिफल दिनेछ । सूचजा प्रविधि,उत्पादनमूलक उद्योग,कृर्षिजन्य उद्योग नेपालमा लागानी योग्य सम्भावना भएका अन्य क्षेत्र हुन् । यी क्षेत्रमा लगानी बढाउन सबैलाई भविष्यलाई दिगो,नविन र संमृद्ध आकार दिन उद्योग वाणिज्य र निजी क्षेत्रको शक्ति प्रयोग गर्न आग्रह गर्दछु’ उनले भने ।
काठमाडौंमा आजदेखि सुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ ।
प्रकाशित मितिः २०८० कार्तिक २० सोमबार
