वागीश्वरी कलेजमा अन्तर्राष्ट्रिय पत्रकारितासम्बन्धी गोष्ठी सम्पन्न

भक्तपुर न्यूज

२० कार्तिक २०८० ५:२१

वागीश्वरी कलेजमा अन्तर्राष्ट्रिय पत्रकारितासम्बन्धी गोष्ठी सम्पन्न

काठमाडौं । भक्तपुरस्थित वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा पत्रकारिताको अन्तर्राष्ट्रिय कानुन, इतिहास तथा आचारसंहिता विषयक गोष्ठी भएको छ ।

आइतबार सुरु भएको गोष्ठीअन्तर्गत प्रत्येक दिन फरक फरक देशको पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गरिने कलेजले उल्लेख गरेको छ । गोष्ठीको पहिलो दिन चीनको पत्रकारिताका इतिहास, कानुन र आचारसंहिताको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

गोष्ठीको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय वैकल्पिक सदस्य तथा चीन अध्येता राजेन्द्र चवालले चीनका विषयमा पश्चिमा चश्माबाट हेर्न नहुने र वास्तविकता अर्कै भएको बताए ।

चीनमा पनि प्रेस स्वतन्त्रता रहेको र चिनियाँ भाषा पढ्न र बुझ्न कठिन भएकाले अंग्रेजीमा लेखिएका रिपोर्टहरु पढ्दा गलत भाष्य स्थापित भएको उनले स्पष्ट पारे ।

चीनको मिडियाको बारेमा अहिले बुझ्न सहज हुँदै गएको र चीनले अंग्रेजी भाषामा र विभिन्न अन्य भाषामा पनि मिडिया चलाउन थालिएकाले कुनै पनि विषयमा चीनको आधिकारिकता थाहा पाउन पश्चिमा मिडिया नभइकन चिनियाँ मिडिया हेर्नुपर्ने भनाइ उनको रहेको छ ।

देशको शान्ति सुरक्षा र भौगोलिक अखण्डता पत्रकार आचारसंहिताको महत्वपूर्ण विषय भएकाले कुनै पनि राष्ट्रले यसलाई अंगिकार गर्ने गरेको र चीनले पनि सोही सिद्धान्त अंगिकार गरेको उनको भनाइ रहेको छ ।

चीनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पत्रकारिताका विद्यार्थी मोनालिसा शिल्पकारले चीनबाटै कागज र प्रेसको आविष्कार भएको कुरा पत्रकारिताको इतिहासमा उजागर नभएको जानकारी दिइन् ।

देशको सार्वभौमिकता, राष्ट्रियता र जनताको पक्षमा चीनको मिडिया भएको बताउँदै चिनिया जनताका लागि सरकारले आफ्नै किसिमको सामाजिक सञ्जाल विकास गरेको उनले जानकारी दिइन् ।

चीनको इतिहास जति पुरानो छ, त्यति नै मिडियाको इतिहास पुरानो रहेको बताउँदै चीनमा मिडियाको नियमन चिनियाँ कानुन र अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरुप नै भएको आफूले पाएको उनले स्पष्ट पारिन् ।

कार्यक्रममा पत्रकारिता शिक्षक पूर्णभक्त दुवालले विद्यार्थीहरुमा अध्ययन अनुसन्धान गर्ने बानीको विकास गराउन र पत्रकारिताको बारेमा विश्वको परिस्थितिबारे जानकार बनाउन गोष्ठीको आयोजना गरेको जानकारी दिए ।

वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले चिनियाँ भूराजनीतिबारे प्रशिक्षणात्मक मन्तव्य दिएका थिए । वागीश्वरी कलेज मानविकी सङ्कायका प्रमुख राजन फेलुको सभापतित्वमा भएको कार्यक्रममा पत्रकारिताका विद्यार्थीहरु मालती पराजुली, सोनिया देसेमरु, सरिना बाडे, सुमन मचामसीलगायतले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

प्रकाशित मितिः २०८० कार्तिक २० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय