जाजरकोटमा ठूलो भूकम्पपछि परकम्प जाने क्रम जारी, ३११ ओटा पराकम्पन

भक्तपुर न्यूज

१९ कार्तिक २०८० १०:५२

जाजरकोटमा ठूलो भूकम्पपछि परकम्प जाने क्रम जारी,  ३११ ओटा पराकम्पन

काठमाडौं । जाजरकोटमा गत शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पपछि पराकम्पन आउने क्रम अझै रोकिएको छैन । पराकम्पन आउने क्रम नरोकिँदा स्थानीय अझै त्रासमा छन् । भूकम्पविद्हरुले यो भूकम्प मझौला खालको भएकाले अझै ठूलो आउन सक्ने भन्दै सचेत गराइरहेका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले अहिलेसम्म ३११ वटा पराकम्पन आइसकेको जनाएको छ ।

जसमा ४ रेक्टर स्केलदेखि माथिका ७ वटा पराकम्पन आएका छन् । पछिल्लो समय आइतबार दिउँसो २ः२४ बजे ४.१ रेक्टर स्केलको पराकम्पन आएको छ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति पुगेको छ । अहिलेसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन÷तीन तथा रोल्पामा एक जना घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मितिः २०८० कार्तिक १९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय