सुवर्णेश्वरको भ्यू टावर निर्माण अलपत्र
भक्तपुर, २२ असार । सूर्यविनायक नगरपालिका ५ स्थित सुवर्णेश्वरमा निर्माण गर्ने भनिएको भ्यू टावर, तारजाली तथा ढुंगा छपाई आयोजना उपभोक्ता समितिको लापरवाहीले अलपत्र परेको छ । उपभोक्ता समिति र आयोजनाबीच २०७३ फागुन ३० गते काम शुरु गर्ने भनि सम्झौता भएको थियो ।

सम्झौता अनुसार २०७४ जेठ ३० गते उक्त योजनाको काम पुरा गरिसक्नुपर्ने थियो । तर उपभोक्ता समितिको ढिलासुस्ती र आयोजनाको उदासिनताका कारण सम्झौता सकिएको करिब १ महिना वितिसक्दा पनि भ्यू टावर निर्माण पुरा हुन सकेको छैन् । भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र पुर्वाधार बिशेष क्षेत्र नं २ को शिर्षकबाट उक्त योजनाका लागि कुल स्टमेट रकम ३० लाख २१ हजार ९ सय ५ रुपैयाँ रहेपनि २४ लाख रकम विनियोजन गरिएको थियो । उक्त टावर लगायतका संरचना निर्माणका लागि स्थानीयले ६ लाख २१ हजार ९ सय ५ रुपैयाँ उपभोक्ता समितिले व्यहोर्नुपर्ने बताईएको छ ।

यहाँ घुम्न आउने आन्तरिक तथा बाह्रय पर्यटकहरुलाई उक्त भ्यू टावरबाट उपत्यकाको सहजै अवलोकन गर्न सकियोस भन्ने लक्ष्यका साथ भ्यू टावर निर्माण गर्न थालिएको उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण बासुले जानकारी दिए । यसअघि तोकिएको समयमा उक्त योजनाको काम पुरा हुन नसकेको अहिले भ्यू टावर निर्माणका लागि म्याद थपिएको अध्यक्ष बासुले बताए ।

यता क्षेत्र नं २ का साँसद रामेश्वर ढु्रगेलले सुवर्णेश्वरमा भ्यू टावर लगायतका संरचना निर्माणको काम शुरु भए पनि अन्य कामहरु लगभग भैसकेको र भ्यू टावर निर्माणको काम भने उचित बजेटको अभावमा हुन नसकेको बताएका छन् । भ्यू टावर निर्माणका लागि गुरुयोजना नै निर्माण गरिएको र सो गुरुयोजना अनुसार करिब १ करोड रकम निर्माणमा लाग्ने भएको उनले जानकारी दिए । उनका अनुसार अबको आर्थिक बर्षमा त्यसका लागि आबश्यक रकम विनियोजन गरेर काम शुरु गर्ने योजना रहेको छ ।
