कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउन ओलीको चुनौती

भक्तपुर न्यूज

१३ कार्तिक २०८० ११:०६

कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउन ओलीको चुनौती

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउन चुनौती दिएका छन्।

‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने विजनेस दिन्छु,’ एमाले गण्डकी प्रदेशले पोखरामा सोमबार गरेको कार्यक्रममा ओलीले भने, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु।’

आफू र एमालेलाई बदनाम बनाउन विदेशमा पैसा लगानी गरेको छ भन्नेजस्ता आरोप लगाइने गरिएको ओलीको भनाइ छ। पहिले स्वीस बैंकमा र अहिले कम्बोडियामा पैसा राखेको भनेर हल्ला चलाइएको उनले बताए।

मेडिकल व्यवसायी दुर्गा प्रसाइले केही दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको बताएका थिए। उक्त विषयमा ओलीले जवाफ दिँदै प्रमाणित गर्न चुनौती दिएका छन्। यस्ता आरोप लगाउनेलाई ओलीले ‘भुस्याहा कुकुर’को संज्ञा दिए।

पेट र मुख छ भनेर जे पनि खान्छ भन्ने नभएको भन्दै उनले राज्यको ढुकुटीबाट एक पैसा पनि खल्तीमा हाल्छ भने त्यो अपराध भएको बताए।

‘राज्यको ढुकुटीबाट १ पैसा पनि आफ्नो खल्तीमा हाल्छ भने त्यो अपराध हो, एमाले यसको विरोधमा छ, कुनै कम्प्रमाइज गर्दैन,’ उनले भने। आफू र श्रीमतीका नाममा भएका सबै सम्पत्ति दान गरिसकेको भन्दै ओलीले अर्काका लागि भ्रष्टाचार नगर्ने बताए।

‘मैले र श्रीमतीले सबै सम्पत्ति दान गरिसकेका छौं, कसका लागि सम्पत्ति राख्ने,’ उनले भने, ‘मैले भ्रष्टाचार गर्ने, अरुलाई दिने मुर्खता केपी ओलीले गर्दैन।’

अर्को प्रसंगमा ओलीले क्विन्टलका क्विन्टल सुन तस्करी ढाकछोप गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लागिपरेको आरोप लगाए। क्विन्टलमा सुन बरामद गर्दा पछि ६० किलो भएको र भेपमा बरामद परेको साढे नौ किलो सुन २ किलोमा झरेको उनको दाबी थियो।

‘क्विन्टलका क्विन्टल सुन तस्करी हुन्छ, डकैती भइरहेको छ देशमा,’ उनले भने, ‘साढे नौ किलो भेपमा आएको सुन २ किलो हुन्छ सरकारलाई कुनै अप्ठ्यारो लाग्दैन।’

बरामद भएका सुन डकैती भएको भन्दै उनले चोरी भयो कि वितरण भयो थाहा नभएको बताए। ‘बरामद सुन स्टोरमा छैन, भन्सारमा छैन, कति पास भयो थाहा छैन,’ उनले भने, ‘चोरी भयो कि, वितरण भयो, के भयो त्यहीबाट हरायो, यो कुरा ढाकछोप गर्न प्रधानमन्त्री लाग्नुभएको छ।’

प्रकाशित मितिः २०८० कार्तिक १३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय