यूएनद्वारा आर्थिक सामाजिक, सांस्कृतिक अधिकार प्रवर्द्धन प्रस्ताव पारित

भक्तपुर न्यूज

२६ असोज २०८० ९:४८

यूएनद्वारा आर्थिक सामाजिक, सांस्कृतिक अधिकार प्रवर्द्धन प्रस्ताव पारित

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्ले बिहीबार आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्द्धन र संरक्षणमा उत्कृष्ट अभ्यास र ज्ञानलाई सुदृढ गर्ने आह्वान गर्ने प्रस्ताव पारित गरेको छ ।

चीन, बोलिभिया, इजिप्ट, पाकिस्तान, दक्षिण अफ्रिका, सिरिया तथा भेनेजुयलालगायतका देशको समूहले पहल गरेको विषयलाई सम्बोधन गर्ने सन्दर्भमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रवर्द्धन र संरक्षणको प्रस्ताव बिना मतदान पारित भएको हो । \

प्रस्तावमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको प्रवर्द्धनमा पहल गर्नका लागि परिषद्को ५७ औँ अधिवेशनमा प्यानल छलफलका लागि आह्वान गरिएको छ ।

मानव अधिकारको मामलमा व्याप्त असमानता र भेदभावको प्रभावमाथि जोड दिँदै प्रस्तावले मानव अधिकारको उपयोग सुनिश्चत गर्ने संकल्पसहित चरम गरिबी निवारणलाई महत्व दिएको छ । साथै उक्त प्रस्तावले अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई सामाजिक खर्चमा प्राथमिकताका साथ विकासोन्मुख देशलाई सहयोग गर्न प्रोत्साहित गर्दछ ।

प्रस्तावमा बजेटमार्फत थप दरबन्दी सिर्जना गरी मानव अधिकार उच्चायुक्तको कार्यलयको क्षमता अभिवृद्धि गर्न राष्ट्रसंघका महासचिवलाई समेत अनुरोध गरिएको छ ।

यसबाट आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसँग सम्बन्धित मानवअधिकार उच्चायुक्तको कार्यालयलाई आफ्नो कार्यादेशअनुरूप लैङ्‌गिक सन्तुलन र समतामूलक भौगोलिक प्रतिनिधित्वको सुनिश्चित गर्न अवसर प्रदान गर्ने पनि प्रस्तावमा उल्लेख छ ।

प्रकाशित मितिः २०८० असोज २६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय