एमाले बागमती प्रदेशको अधिवेशन काठमाडौंमा जारी
काठमाडौं । नेकपा एमालेको बाग्मती प्रदेश अधिवेशन काठमाडौं मा सुरु भएको छ । नेतृत्व चयनमा सर्वसम्मति नभए विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गराइने गरी तयारी भइरहेको एमालेले जनाएको छ ।
एमालेका अनुसार अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी छन् । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि अहिलेसम्म करिब डेढ दर्जन आकांक्षी छन् । अहिलेका अध्यक्ष केशव पाण्डे, बाग्मती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यहरु कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल लगायतको नेतृत्वमा दाबी छ ।
एमालेको बाग्मती प्रदेश अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित हुनेछ । कमिटीमा ३३ प्रतिशत महिला तथा १० प्रतिशत युवाका लागि सिट आरक्षण गरिएको छ । एमालेले प्रदेश अधिवेशनमा अधिकतम सहमतिको प्रयास गर्ने, तर सहमति नभएको अवस्थामा मात्र चुनावको विकल्प खुला राख्ने नीति तय भएको छ ।
प्रकाशित मितिः २०८० असोज ०८ सोमबार
