साउन २८ गतेदेखि सम्पूर्ण निजी विद्यालय बन्द गर्ने चेतावनी
काठमाडौं । प्रस्तावित नयाँ विद्यालय शिक्षा विधेयक २०८० को व्यापक विरोध भएको छ । निजी विद्यालय सञ्चालकहरूले नयाँ विद्यालय शिक्षा ऐन २०८० को विधेयकको विरुद्ध आन्दोलनको घोषणा गरेका छन्।
उनीहरुले विधेयकमा समावेश गरिएका धेरै विषयमा असहमति रहेको र दबाबस्वरूप आन्दोलनको समेत घोषणा गरेका हुन् । प्याब्सन, एनप्याब्सन र हिसानले मंगलबार संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा अन्दोलनको घोषणा गरेका छन् ।
आन्दोलनका कार्यक्रमअन्तर्गत साउन २८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिइएको छ । प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले आफूहरु विद्यालय बन्दको चरणमा पुग्नुअघि नै सरकारले लिखित प्रतिबद्धता जनाए मात्र आन्दोलनका कार्यक्रम फिर्ता लिन तयार हुने बताए । यसअघि थारु समुदायले उक्त विधेयकको विरोध गरेका थिए ।
प्रकाशित मितिः २०८० साउन २३ मंगलबार