कन्जंग्टिभाइटिस रोगका बिरामीहरूको चाप बढ्दै

भक्तपुर न्यूज

२३ साउन २०८० ८:४४

कन्जंग्टिभाइटिस रोगका बिरामीहरूको चाप बढ्दै

काठमाडौं । अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने (कन्जंग्टिभाइटिस) रोगका बिरामीहरूको चाप बढ्दै गएको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गतका आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् ।

सङ्घ कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार सङ्घअन्तर्गतका आँखा अस्पतालहरूमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामी कन्जंग्टिभाइटिसको उपचारका लागि आउने गरेको जानकारी दिए ।

सङ्घका महासचिव भरतबहादुर चन्दले देशभरि अहिले कन्जंग्टिभाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न सङ्घअन्तर्गतका अस्पताल तथा उपचार केन्द्रहरूलाई निर्देशन जारी गरिसकिएको जानकारी दिए ।

संघको तथ्याङ्क अनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगञ्जमा २० प्रतिशत, बिनोद निता कण्डेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, बिराटनगर आँखा अस्पताल, बिराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल, लहानमा २० प्रतिशत बिरामीहरुमा कन्जंग्टिभाइटिसको समस्या देखिएको छ ।

आँखा पाक्ने समस्या भएका बिरामीहरुमा अकस्मात आँखा रातो हुनु, आँखाको डिल सुनिएर हेर्न समस्या हुनु, आँखाबाट पानी बगिरहनु, आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउने, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुने जस्ता लक्षण लिएर बिरामी अस्पतालमा पुग्ने चिकित्सक बताउँछन् ।

हरेक वर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएता पनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकको भनाइ छ । सुरुवातमा भारताको सीमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशभरी फैलिएको संघको ठहर छ ।

देशभरी यो समस्या फैलिएपछि अहिले कतिपय स्थानीय तहहरुले विद्यालय बन्द गर्ने निर्णय समेत गरिसकेका छन् । यस्तो समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा. डा. ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधिको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ ।

प्रकाशित मितिः २०८० साउन २३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *