फिल्म ‘अगस्त्य’ २५ सयभन्दा बढी शोसहित विश्वव्यापी प्रदर्शन हुने

भक्तपुर न्यूज

१९ साउन २०८० ९:२१

फिल्म ‘अगस्त्य’ २५ सयभन्दा बढी शोसहित विश्वव्यापी प्रदर्शन हुने

काठमाडौं । सौगात मल्ल स्टारर थ्रिलर फिल्म ‘अगस्त्य’ २५ सयभन्दा बढी शोसहित विश्वव्यापी प्रदर्शन हुने भएको छ । बिहीबार फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार किनेको सेभेन सिज र निर्माताबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिजबीच फिल्मको पहिलो संस्करणलाई लिएर यस्तो सम्झौता भएको जारी वक्तव्यमा उल्लेख छ । सोही वितरण कम्पनीले सौगात मल्लकै अर्को फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ लाई पनि त्यति नै शो संख्यामा अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्ने जनाएको छ ।

अमेरिका र बेलायतमा ८०० देखि एक हजार शो, क्यानडामा १५० शो, युरोपसहित एसियाका जापान, दक्षिण कोरिया, हङकङ र थाइल्यान्डमा गरी डेढ सय शो, अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न सहरमा ५०० शो र मध्यपूर्वमा ७५० शोसहित ‘अगत्स्य’ प्रदर्शन हुने जनाइएको छ ।

‘आधा छायांकन नसकिंदै अन्तर्राष्ट्रिय बजारमा फिल्म बिक्री हुनुलाई हामीले उपलब्धिको रुपमा लिएका छौं । फिल्मको लागि मात्र नभएर सिंगो नेपाली फिल्म उद्योगकै लागि यो सकारात्मक कुरा हो,’ डार्क हर्स इन्टरटेनमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फिल्मको ५५ प्रतिशत बाँकी छायांकन आगामी बिहीबारदेखि राजविराज र काठमाडौंमा हुँदैछ । अघिल्लो चरणको छायांकन भारतको उत्तर प्रदेशमा सकिएको छ । निर्देशक सौरभ चौधरीले फिल्मका मुख्य अभिनेता सौगात मल्लको एक चरणको सुटिङ सकिएको र अर्को चरणको अब सुरु हुने जनाए ।

सौगातसहित मलिका महत र नाजिर हुसेनको शीर्ष भूमिका रहेको फिल्मलाई २०८० सालभित्रै प्रदर्शन गरिने जनाइएको छ । फिल्मको निर्मातामा विश्वप्रकाश गौचन, प्रकाश मल्ल र अनिष तामाङ छन् ।

प्रकाशित मितिः २०८० साउन १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *