सुन तस्करी प्रकरणमा जोडिए कृष्णबहादुर महराका बाबुछोरा
काठमाडौं । चिनियाँ नागरिकले गत पुसमा अवैध तरीकाले ल्याएको सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका बाबु–छोरा नै जोडिएको खुलेको छ। चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको समेत संलग्नता देखिएको अभियोग पत्रमै उल्लेख भए पनि प्रहरी र सरकारी वकिलले उनीहरुलाई प्रतिवादी भने नबनाई मुद्दा दर्ता गरेका छन्।
चिनियाँ नागरिकले दुबईबाट तस्करी गरी ल्याएको ९ किलो ११.५२४ ग्राम सुन भन्सारका कर्मचारीहरूको मिलोमतोमा इलेक्ट्रिक सिगरेटभित्र लुकाएर ल्याएको सुन चोरेर सो स्थानमा इलेक्ट्रिक सिगरेट राखेका थिए।
चिनियाँ नागरिकहरु लुइ र दावजिङ वाङसँग कृष्णबहादुर महराको पटकपटक सम्पर्क देखिएको छ। महराका छोरा राहुलको पनि दावजिङसँग सम्पर्क देखिएको छ। जुन कुरा सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा खुलाएको छ। महराका बाबुछोराको सम्पर्क सुन ल्याउने र सुन बेच्ने समूहसँग देखिएको छ। जसमा महराका बाबुछोरासँगै दुई चिनियाँ, लोकेन्द्र पौडेल, श्याम शाह, अश्विन, खुवाप्रसाद न्यौपानेको कनेक्सन रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
कृष्णबहादुर महरा र राहुल महरा भन्सार अधिकृतको बयानमा पनि जोडिएका छन्। भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले बयानका क्रममा उक्त सुनको बारेमा महराका बाबुछोराले नै चासो राखेको बताएका छन्।
प्रकाशित मितिः २०८० साउन ०४ बिहिबार
