काठमाडौं, १३ असार । केही समय यता एन्फा र थ्रिस्टार क्लबबीचको विवाद मिलेपछि अब थ्रिस्टार क्लब फुटबल खेलमा फकिने भएको छ । पटक पटकको वार्ता र छलफलपछि दई पक्षिय सहमति हुँदा क्लब खेलमा फर्किने भएको क्लबका मेनेजर
राम श्रेष्ठ (राम बोस) ले जानकारी दिए । करिब साढे सात महिनापछि थ्रि स्टारमा पुनः मैदानमा फर्किने भएको हो ।
अखिल नेपाल फुटबल संघ एन्फा र थ्रीस्टारबीच डेढ करोड रुपैयाँ तथा ३ अन्तर्राष्ट्रिय खेल खेलाउने विषयमा सहमति बनेपछि क्लब फुटबल गतिविधिमा फर्किन लागेको हो। एन्फा पदाधिकारीको लापरवाहीका कारण थ्रीस्टारले गत वर्ष एएफसी कप क्वालिफायर खेल्न पाएको थिएन्। एसियाली फुटबल महासंघ एएफसीले नेपालको लिग च्याम्पियन क्लबलाई प्रतियोगितामा सहभागी गराउन ४ पल्ट पत्राचार गरे पनि एन्फा पदाधिकारीले कुनै पनि इमेलको उत्तर नदिएपछि थ्रीस्टार दोस्रो चरणको क्वालिफायर खेल्न बञ्चित भएको थियो।
थ्रीस्टारको स्थानमा एएफसीले मगोलियाको इर्चिम एफसीलाई समावेश गराएको थियो। मंगोलियामा भएको पहिलो चरणको छनोटमा थ्रीस्टारले मंगोलियाको च्याम्पियन क्लब इर्चिमलाई २–० ले पराजित गरेको थियो। मेनेजर श्रेष्ठका अनुसार एन्फासँग क्षतिपूर्तीबापत डेढ करोड रुपैयाँ क्लबले पाउने विषयमा सहमति बनेको छ।
थ्रीस्टारले एन्फा पदाधिकारीको गैरजिम्मवार पूर्ण कार्यको विरोध गर्दै २०१६ को नोभेम्बरमा फुटबलको सबै गतिविधिमा भाग नलिने घोषणा गरेको थियो। त्यतिबेला पत्रकारसम्मेलन गर्दै क्लबले क्षतिपूर्तीबापत ६ करोड रुपैयाँ माग गरेको थियो। साढे ७ महिनाको अवधिमा थ्रीस्टारले मोफसलमा आयोजना भएको कुनै प्रतियोगितामा सहभागिता जनाएन। यस्तै, आफ्नै क्लबका दिंवगत पूर्व अध्यक्ष ललितकृष्ण श्रेष्ठको नाममा एन्फाले वार्षिकरुपमा आयोजना गर्ने ललितस्मृति युथ–१८ फुटबल प्रतियोगितामा यस वर्ष भाग लिएको थिएन्।
Comments