उत्तर कोरियाले नयाँ आणविक परीक्षण गरेमा कुनै आश्चर्य हुने छैन : अमेरिका
काठमाडौं । ह्वाइट हाउसका वरिष्ठ अधिकारीले उत्तर कोरियाले गत साता अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि अर्को आणविक परीक्षण गरेमा अमेरिका आश्चर्यचकित नहुने टिप्पणी गरेका छन् ।
“मलाई लाग्छ उत्तर कोरियाले आफ्नो सातौं आणविक परीक्षण गर्नेछ र म यसको बारेमा चिन्तित छु,” राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सीबीएसलाई ‘फेस द नेशन’ नामक कार्यक्रमलाई दिएको एक अन्तर्वार्तामा भने। उनले भने, “म तत्काल त्यस्तो कुनै सङ्केत देख्दिनँ । तर उत्तर कोरियाले आफ्नो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र क्षमताको सन्दर्भमा अर्को आणविक परीक्षण अघि बढायो भने यो कुनै आश्चर्यको विषय हुनेछैन ।”
सुलिभानले प्योङयाङले केही वर्षअघि नै आफ्नो आणविक क्षमताको परीक्षण सुरु गरेको र उनीहरूले यस क्रमलाई जारी राखेको बताए । उत्तर कोरियाका नेता किम जोङ उनले प्रत्यक्ष निरीक्षण गरेको आफ्नो देशको सबैभन्दा नयाँ आईसीबीएमको सफल परीक्षण गरेको उत्तर कोरियाले बिहीबार जनाएको छ । यसअघि एक पटक मात्र परीक्षण गरिएको ह्वासोङ–१८ क्षेप्यास्त्र ले छ हजार ६४८ किलोमिटरको उचाइमा एक हजार १ किलोमिटर उडेर पूर्वी सागरमा खसेको कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले जनाएको छ । (एजेन्सी)
प्रकाशित मितिः २०८० साउन ०१ सोमबार
