आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर

भक्तपुर न्यूज

१५ असार २०८० १०:२९

आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर

काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेषले शुक्रबार खड्कालाई १ वर्ष ३ महिना कैद र ९ करोड १९ लाख ६ हजार ६ सय बराबर बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको छ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले यस्तो फैसला सुनाएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताए। त्यस्तै विशेषले खड्काको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, सेयर र अन्य सम्पत्ति जफत हुने फैसला सुनाएको छ।

खड्काले १८ करोड ६६ लाख रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ पुस २३ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुत रुपमा आर्जन गरेको सम्पत्ति लुकाएकोले सबै जफत हुनुपर्ने दाबी गरेको थियो।

निगमको कार्यकार्य निर्देशक हुँदा जग्गा खरिददेखि अन्य प्रकरणमा खड्का मुछिएका थिए। नेपाल आयल निगमको जग्गा खरिद सम्बन्धी विवाद अहिले अख्तियारमा तामेलीमा रहेको छ।

प्रकाशित मितिः २०८० असार १५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय