२ खर्ब ६३ अर्ब सरकारी बजेट खर्च भएन्

भक्तपुर न्यूज

११ असार २०७४ ५:३०

२ खर्ब ६३ अर्ब सरकारी बजेट खर्च भएन्

काठमाडौं, ११ असार । राजश्व संकलन उत्साहजनक रुपमा बढे पनि सरकारले रकम खर्च गर्न नसक्दा ढुकुटीमा २ खर्ब ६३ अर्ब रुपैयाँ थुप्रिएको छ ।
चालु आर्थिक वर्षलाई सरकारले बजेट कार्यान्वयन वर्ष घोषणा गर्दै खर्च बढाउने योजना सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष सकिन अब ३ साता मात्र बाँकी रहँदा सरकारले ६ खर्ब ३१ अर्ब ७१ करोड रुपैयाँको मात्र चेक काटेको छ । यो कुल बजेटको ६० प्रतिशत मात्र खर्च हो ।
चालु आवमा सरकारले १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट ल्याएको छ । कुल बजेटको ४० प्रतिशत खर्च हुन बाँकी छ । चालु आवमा १ खर्ब ५० अर्ब रुपैयाँ बजेट खर्च नहुने अर्थ मन्त्रालयको अनुमान छ । सरकारले खर्च बढाउन विभिन्न उपाय लिए पनि हालसम्म खर्चको अवस्था निराशाजनक रहेको अर्थ मन्त्रालयको भनाइ छ ।
३ वर्षको खर्चको अवस्थालाई हेर्दा बजेटको आकार बढ्ने तर खर्च गर्ने क्षमतामा सुधार आउन सकेको देखिन्दैन् । सरकारले चालु आवमा खर्च हुन नसक्ने भन्दै १ खर्ब २ अर्ब रुपैयाँ आगामी आवको वजेटमा समावेश गरिसकेको छ ।
चालु् चालु आव सकिन अब २० दिन बाँकी रहँदा कुल बजेटको ४० प्रतिशत खर्च हुन बाँकी रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार चालुतर्फ ४ खर्ब ३८ अर्ब १२ करोड रुपैयाँ खर्च भएको छ । यो कुल चालु बजेटको ७१ प्रतिशत हो । चालु आवमा सरकारले ६ खर्ब १७ अर्ब १६ करोड रुपैयाँ चालु खर्चका लागि बजेट विनियोजन गरेको थियो ।
चालु खर्च भएपनि पुँजीगत खर्चको अवस्था निराशाजनक देखिएको छ । हालसम्म कुल बजेटको ४१ प्रतिशत मात्र खर्च भएको महालेखाले जानकारी दिएको छ । महालेखाकाअनुसार १ खर्ब २९ अर्ब रुपैयाँ मात्र पुँजीगत खर्च भएको छ । चालु आवमा सरकारले ३ खर्ब ११ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
यस्तै वित्तीय व्यवस्थापनतर्फ भने झण्डै ५४ प्रतिशत खर्च भएको छ । सरकारले ऋण तिर्नका लागि चालु आवमा १ खर्ब १९ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरेको थियो । हालसम्म ६४ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको महालेखाले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *