बजेट विनियोजन लगत्तै कान्ति राजपथमा कालोपत्रे
काठमाडौं, ११ असार । हेटौंडा काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग कान्ति राजपथमा निर्माणका लागि यो बर्ष ६० करोड रुपैयाँ खर्च भएको छ । यो आयोजनामा आगामी वर्षका लागि पनि ६० करोड रुपैयाँ नै विनियोजन भएको छ । बजेट विनियोजन लगत्तै कान्ति राजपथमा कालोपत्रे सुरु गरिएको छ । आउँदो सालसम्म कालोपत्रे गरिसक्ने लक्ष्यका साथ काम अघि बढाईएको आयोजना प्रमुख देबेन्द्रप्रसाद साहले बताए ।
ट्रयाक खुलेको ६० वर्षपछि हेटौंडातर्फको ग्रामीण भेगबाट कालोपत्रे सुरु गरिएको हो । यो बाटो बनेपछि हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं आउने २२६ किमी र पालुङ हुँदै आउने १२६ किलोमिटर बाटोको विकल्प तयार हुनेछ । बढीमा अबको डेढ वर्षभित्र यो सडकबाट काठमाडौंसम्म ठूला सवारीले सहजरुपमा आवागमन गर्न सक्नेछन् ।
साहका अनुसार यो महिनाभित्रै ९ किलोमिटर सडकखण्ड कालोपत्रे भइसक्ने छ । अर्को आर्थिकवर्षमा कान्ति राजपथको थप ४० किलोमिटर पीच गरिने उनले जानकारी दिए । सडक समयसीमाभित्रै निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब ८५ करोड र ललितपुरतर्फ एक अर्ब बढी खर्च लाग्ने अनुमान गरिएको छ ।