संविधान संशोधनमा प्रतिपक्ष लचिलो हुन्छ : श्रेष्ठ
भक्तपुर १० असार । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले संविधान संशोधनमा प्रतिपक्ष दलका रुपमा रहेको नेकपा एमाले पनि लचिलो भएर आउने बताएका छन् । मन्त्री श्रेष्ठले आज भक्तपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संविधान संशोधनका बिषयमा सबै राजनीतिक दलहरुसँग छलफल भैरहेको बताउँदै प्रतिपक्ष दलले लचकता अपाउनुको विकल्प नभएको बताए ।
आगामी १४ गते हुन लागिरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न हुने बिश्वास गर्दै उनले आन्दोलनमा रहेको भनिएको राजपा पनि निर्वाचन सम्पन्न होस् भन्ने मनशायमै रहेको बताए । राजपाले सरकारबाट आफनो समर्थन लिने बाहिरी हल्ला आएपनि यो गलत भएको भन्दै मन्त्री श्रेष्ठले अहिले सरकारलाई समर्थन गरेका कुनैपनि दलले समर्थन फिर्ता नलिने प्रष्ट पारे ।
शहिद राधेश्याम जोन्छे को ५औं स्मृति सभालाई सम्बोधन गर्न भक्तपुर आएका मन्त्री श्रेष्ठले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले भक्तपुरमा हार व्यहोर्नु परेकोले अबका दिनमा पार्टीलाई सशक्त बनाउन टोलदेखि जिल्ला तहसम्म संगठन विस्तारका लागि अहिलेबाटै लागिपर्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए । भक्तपुरमा काँग्रेसको जित नै शहिद जोन्छेको सपना साकार भएकोले यसप्रति ध्यान दिन सबैलाई आग्रह समेत उनले गरे ।
राधेश्याम जोन्छे समृति प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्दै उनले सरकार र शिक्षा मन्त्रालय भक्तपुरको मात्रै नभई समग्र देशकै शैक्षिक विकास र गुणस्तरीय शिक्षाका लागि लागिपरेको बताएका छन् । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रजनी जोन्छेको सभापतित्वमा भएको थियो ।