सुरुङ खन्न ढिलाईले मेलम्चीको पानी दशैँमा नआउने
काठमाडौ, ७ असार । सुरुङ खन्न ढिलाईले गर्दा काठमाडौंमा मेलम्चीको पानी दशैँमा नआउने भएको छ । मेलम्ची खानेपानी आयोजनाको टनेल कार्य सक्न अझै ९ महिना लाग्ने देखिएपछि मेलम्चीको पानी दशैँमा नआउने भएको हो ।
हाल इटालीको ठेकेदार कम्पनीले दैनिक ११ मिटर मात्र टनेल खनिरहेको छ । कम्पनीले काममा थप तीब्रता नदिने हो भने दशैँसम्म काठमाडौंमा पानी आउने भनेर प्रचार गरिएको विषय झुटो सावित हुने सम्बन्धित सरकारी अधिकारीले उल्लेख गरेका छन् ।
एशियाली विकास बैंकको परियोजना समीक्षा कार्यक्रममा बोल्दै अर्थसचिव शान्तराज सुवेदीले हाल ठेकेदारले अत्यन्त ढिलो गतिमा सुरुङ खन्ने कार्य गरिरहेको बताए । अक्टोबर (दशैँ) सम्म पानी ल्याउने भनेको योजना यही तरिकाले जाने हो भने असम्भव भइसकेको भन्दै उनले यसमा जिम्मेवार निकायले तत्काल ध्यान दिन जरुरी भएको बताए ।
मेलम्चीको हेडवक्र्स, पानी प्रशोधन केन्द्र निर्माणको कार्य पनि ढिलाई भइरहेको उनले औंल्याए । २७ किलोमिटर टनेलमध्ये अब तीन किलोमिटर खन्न बाँकी छ । टनेल खन्ने कार्यमा ढिलाई हुँदा यसअघि परियोजनाको लागत रकम वृद्धि भएको थियो । सुरुमा ठेकेदारले दैनिक ३५ मिटर सुरुङ खन्दै आएकोमा पछिल्ला दिनमा काममा ढिलाइ भएको हो ।
शासेक पावर प्रोजेक्ट र गौतम बुद्ध विमानस्थल र पुनःनिर्माणको कार्य पनि अत्यन्त सुस्त भएको सचिव सुवेदीले औंल्याए । एडिबीका उपमहानिर्देशक जिवेश शरणले ठूला आयोजनाहरु मेलम्ची, गौतमबुद्ध विमानस्थललगायतका आयोजनाहरुमा अत्यन्त सुस्त गतिमा काम भइरहेको जनाए ।